निर्वाचनले नेपालमा सुशासन, विकास र समृद्धिको यात्रा सुनिश्चित गर्ने विश्वास: राष्ट्रपति पौडेल

लोकप्रिय

कतार (दोहा), कात्तिक १८ गते । राष्ट्रपति रामचन्द्र पौडेल र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच शिष्टाचार भेटवार्ता गर्नुभएको छ । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै कतारको राजधानी दोहामा मङ्गलबारदेखि शुरु भएको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन आउनुभएका राष्ट्रपति पौडेल र  संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसबीच शिष्टाचार भेटवार्ता भएको हो ।

सो अवसरमा राष्ट्रपति पौडेलले कोपनहेगन प्रतिबद्धताहरूलाई कार्यान्वयन गर्न र सामाजिक विकासलाई तीव्रता दिन संयुक्त राष्ट्रसङ्घका महासचिवले खेल्दै आउनुभएको भूमिकाको प्रशंसा गर्दै शान्ति, सामाजिक न्याय र दिगो विकासका साझा लक्ष्य प्राप्तिका लागि राष्ट्रसंघसँग निकट रही काम गर्न नेपाल तयार छ भन्नुभयो ।

“गत सेप्टेम्बरमा भएको जेन–जी आन्दोलनपछि नेपालमा नयाँ सरकार गठन भएको छ, यस आन्दोलनले जबाफदेही, उत्तरदायी र भ्रष्टाचारमुक्त शासन व्यवस्थाको माग गरेको छ, युवाहरूको आकाङ्क्षा पूरा गर्न हामी प्रतिबद्ध छौँ”, भेटमा राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले बताउनुभयो । राष्ट्रपति पौडेलले प्रतिनिधिसभा विघटन भएर आगामी फागुन २१ मा आम निर्वाचनको घोषणा गरिएको तथा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्न नेपाल क्रियाशील रहेको उल्लेख गर्दै यस निर्वाचनले नेपालमा राजनीतिक निकास दिनुका साथै सुशासन, विकास र समृद्धिको यात्रा सुनिश्चित गर्ने विश्वास लिएको बताउनुभयो ।

कार्बन उत्सर्जन नगण्य रूपमा गरे पनि नेपालले जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरू असमानुपातिक र गम्भीर रूपमा भोगिरहेको बताउँदै राष्ट्रपति पौडेलले हामी जलवायु परिवर्तनका असरहरूको न्यूनीकरण र अनुकूलनका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोगको अपेक्षा गर्छौँ भन्नुभयो । गरिबी निवारण, रोजगारी सिर्जना र सामाजिक समावेशिताको सुनिश्चितताजस्ता चुनौती सम्बोधन गर्नुपर्ने खाँचो रहेको भन्दै यो सम्मेलनले सामाजिक विकासप्रतिको विश्वव्यापी प्रतिबद्धतालाई पुनः दोहोर्‍याउने र दिगो विकास एजेन्डा २०३० को कार्यान्वयनलाई थप गति दिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रपति पौडेलले सामाजिक विकास, समावेशीकरण र गरिबी निवारण नेपालका प्रमुख प्राथमिकताहरू हुन् भन्दै नेपालले गरिबी न्यूनीकरण, मानव विकास, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको पहुँचजस्ता क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ भन्नुभयो । सो अवसरमा संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले  जलवायु परिवर्तनको मार खेपिरहेका नेपालजस्ता मुलुकहरूका लागि जलवायु अनुकूलनका लागि विकसित देशहरूबाट सहयोग उपलब्ध गराउन राष्ट्र संघ लागिरहेको बताउँदै कार्बन उत्सर्जन घटाउनेतर्फ पनि आफू लागिरहेको जानकारी दिनुभएको प्रेस सल्लाहकार पोखरेलले बताउनुभयो ।

उहाँले नेपालले मानव अधिकारका पक्षमा राम्रो गरिरहेको पनि बताउनुभयो । उहाँले नेपालको पछिल्लो घटनाका सन्दर्भमा नेपालले आफ्नो समस्या आफैँ समाधान गर्न नेपालका संस्थाहरू सक्षम रहेकोमा राष्ट्र संघ पूर्ण विश्वस्त रहेको पनि बताउनुभयो । राष्ट्रपति  पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार यहाँ आउनुभएको हो । यहाँ आउनु हुँदा राष्ट्रपति पौडेललाई दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका विदेश मन्त्रालय र त्यहाँस्थित नेपाली राजदूतावासका उच्चपदस्थ पदाधिकारीले स्वागत गर्नुभएको थियो । राष्ट्रपति पौडेल सम्मेलनमा सहभागी भएर कात्तिक २० गते स्वदेश फर्कनुहुने कार्यक्रम छ ।

ताजा समाचार

Related Articles