अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा जोड्न छलफल

लोकप्रिय

हेटौँडा, कात्तिक २८ गते । बागमती प्रदेश श्रम ,रोजगार तथा यातायात मन्त्रालयले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने छलफल थालेको छ । हेटौँडामा शुक्रबार मन्त्रालयले प्रदेशभरिका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायतका सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

कार्यक्रममा श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापाले अनौपचारिक क्षेत्रका श्रमिकहरू प्रायः आधारभूत सुरक्षाविना काम गर्न बाध्य रहेको उल्लेख गर्दै कोषमा उनीहरूको सहभागिता सुनिश्चित गर्नु राज्यको दायित्व भएको बताउनुभयो । उहाँले स्थानीय तहले प्रत्येक वडामा सामाजिक सुरक्षा कोषसँग सम्बन्धित प्रचार–प्रसार तथा आवश्यक पूर्वाधारका लागि बजेट विनियोजन गर्नुपर्नेमा जोड दिँदै संघीय सरकारसँग समन्वय गरी कोषमा थप रकम योगदान गर्न प्रदेश सरकार तयार रहेको जानकारी दिनुभयो।

नेकपा एमाले बागमती प्रदेशसभाका प्रमुख सचेतक एव पूर्व श्रम रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठले सामाजिक सुरक्षाका कार्यक्रमहरूले राज्यप्रति जनताको विश्वास बढाउने उल्लेख गर्नु भयो ।
सामाजिक सुरक्षा कोषका वरिष्ठ सहायक निर्देशक जयकृष्ण दुलालले कोषका योजनाबारे प्राविधिक प्रस्तुतीकरण गर्दै अनौपचारिक क्षेत्रका श्रमिकबाट न्यूनतम पारिश्रमिकको ११ प्रतिशत र सरकारले थप गर्ने ९.३७ प्रतिशत गरी कुल २०.३७ प्रतिशत योगदान कोषमा जम्मा हुने जानकारी दिनु भयो। भीमफेदी गाउँपालिका र बुढानिलकण्ठ नगरपालिकाले आफ्ना क्षेत्रका श्रमिकको पञ्जीकरण तथा सहभागिताबारे अनुभव तथा उपलब्धि सार्वजनिक गरेका थिए ।
कार्यक्रममा भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले १९७ जना अनौपचारिक श्रमिकका लागि पालिकाले नियमित रूपमा ९.३७ प्रतिशत योगदान गर्दै आएको बताउँदै यस्तो सहभागिताले न्यून आम्दानी भएका श्रमिकको भविष्य सुरक्षित गर्ने बताउनुभयो ।

ताजा समाचार

Related Articles