हेटौँडा, कात्तिक २८ गते । मकवानपुरको कैलाश गाउँपालिकामा पहिलो पटक वडा नं. ७ ङिको स्वास्थ्य चौकीमा आमा सुरक्षाका लागि कुरुवा घर सञ्चालनमा ल्याइएको छ । गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले उक्त कुरुवा घरको शुक्रबार उद्घाटन गर्दै गाउँपालिकाको प्रत्येक वडाबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको अवस्थामा सुत्केरी आमाहरुको लागि थप सुरक्षा होस् भनेर खाने बस्ने सुविधासहित घर निर्माण गरिएको बताउनुभयो ।

वर्थिङ सेन्टर सञ्चालनले घरमा सुत्केरी हुनेको संख्या कम हुँदै गइरहेको बताउँदै अब सुत्केरी व्यथा लाग्नु अघि नै एक दुई दिन अघिदेखि स्वास्थ्य सुरक्षाको लागि कुरुवा घरका आउन उहाँले आग्रह गर्नुभयो । सीमान्तकृत चेपाङ समुदायको बाहुल्यता बढी रहेको वडामा विस्तारै स्वास्थ्य चेतना वृद्धि हुँदै गइरहेको अध्यक्ष मुक्तानले भन्नुभयो गाउँघर क्लिनिक सञ्चालन, घरमै गर्भ परीक्षण कार्य भइरहेको पनि छ, होम डेलीभरी शून्यतामा ल्याउन गाउँपालिका अग्रसर भएर काम गरिरहेको छ ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख किरण श्रेष्ठले दुर्गम गाउँहरुमा भौगोलिक विकटता रहेको स्थानहरुमा यस्ता पर्खिने घर निर्माण गर्दै आइरहेको भन्दै प्रदेश सरकारको विशेष अनुदान अन्तरगत गत आवको वार्षिक कार्यक्रममा हामीले यस घर निर्माण गरिएको बताउनुभयो । टाढाबाट आउँदा खान र बस्न समस्या हुने अवस्था रहेकाले यस स्वास्थ्य चौकीमा एक कोठे घर निर्माण गरिएको उहाँको भनाई छ ।

वडा नं. ७ का वडाध्यक्ष उदासकुमार भोलनले कुरुवा घर निर्माणले सेवा प्रवाहमा थप सहयोग पुग्ने भन्दै यसअघि पनि खाना खुवाउने र राख्ने गरेको सुनाउनुभयो ।
कार्यक्रममा जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत लक्ष्मण घिमिरे, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख तीलकप्रसाद गौतम, वडा सचिव युगचन्द्र भट्टराई, स्वास्थ्य चौकीका प्रमुख मेनका ठाकुर लगायतको आतिथ्यता रहेको थियो । उक्त घर जनस्वास्थ्य कार्यालयको आर्थिक सहयोगमा निर्माण गरिएको हो ।




