हेटौँडा, कात्तिक २८ गते । हेटौँडा उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष नवीन सिग्देलले विकासको लागि शिक्षालाई नै पहिलो प्राथमिकता राखेर काम गर्नुपर्नेमा जोड दिनुभएको छ ।
शैक्षिक गुणस्तर सुधार समिति, हेटौँडा–४ को वडा कार्यालयमा सम्पन्न बैठकमा वडाध्यक्ष सिग्देलले वडा कार्यालयले शिक्षालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको बताउनु भयो ।

बैठकले हेटौँडा उपमहानगरपालिका ४ नं. वडा कार्यालयद्वारा विनियोजित बजेटको सीमामा रहेर शैक्षिक कार्यक्रम कार्यान्वयनबारे छ महिने (मंसिर–वैशाख) कार्ययोजना बनाएको छ । बैठकले शिक्षक तालिम तथा उत्प्रेरणा कार्यक्रम, बृहत् शैक्षिक तथा साँस्कृतिक मेला, वडास्तरी बृहद खेलकुद प्रतियोगिता, उत्कृष्ट शिक्षक तथा विद्यार्थी सम्मान तथा पुरस्कार वितरण कार्यक्रम, विद्यार्थी उद्यमशीलता कार्यक्रम, विद्यालयमा विनियोजित पूर्वाधार निर्माण कार्य अगाडि बढाउनेलगायतका निर्णयहरू गरेको छ ।

बैठक हेटौँडा ४ नं. वडाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूका प्रधानाध्यापक तथा प्रतिनिधिहरूको उपस्थित रहेको थियो ।
समितिका अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा बसेको बैठकले भुटनदेवी माविका प्रअ माधवप्रसाद दाहालको अनिवार्य अवकाशपछि रिक्त रहेको समितिको कोषाध्यक्षमा भुटनदेवी माविका निमित्त प्रअ सूर्यप्रसाद घिमिरेलाई मनोनित गर्ने गरिएको समितिका सचिव रामसागर गुरागाईँले जानकारी दिनुभयो ।




