खासकुरा संवाददाता
हेटौँडा, मंसिर २ गते । मकवानपुर प्रहरीले लागूऔषध खैरो हिरोईनसहित एक जनालाई पक्राउ गरेको छ ।
सोमबार राति हेटौँडा उपमहानगरपालिका १० स्थित कर्रा बस्ने वर्ष ३७ का हर्क बहादुर क्षेत्रीलाई खैरो हिरोईनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले पैदल हिडिरहेको अवस्थामा फेला पारी क्षेत्रीलाई खानतलासी गर्दा निजको साथबाट खैरो हिरोईन जस्तो देखिने धुलो पदार्थ ५ ग्राम १८० मिलिग्राम (प्लाष्टिक बाहेक तौल गर्दा) फेला परेको प्रहरीको भनाई छ । साथै निजको साथबाट दुई थान फलामको रड समेत बरामद गरिएको छ । निज क्षेत्रीलाई नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट लागूऔषध कसुर मुद्धामा म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।




