सिमराको स्थिति सामान्य हुँदै : गृह मन्त्रालय

लोकप्रिय

काठमाडौँ, मङ्सिर ३ गते । गृह मन्त्रालयले आज बाराको सिमरामा भएको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै स्थिति सामान्य बन्दै गएको जनाएको छ । आज साँझ एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले उक्त घटनाबाट सिर्जित अवस्थालाई नियन्त्रणमा लिई स्थिति सामान्य बनाउँदै शान्ति सुरक्षा कायम गर्न स्थानीय प्रशासनले आवश्यक पहल गरिरहेको र स्थिति सामान्य हुँदै गएको जनाएको हो ।

मन्त्रालयका सहायक प्रवक्ता रवीन्द्र आचार्यद्वारा जारी विज्ञप्तिमा वर्तमान सरकार मुलुकमा शान्ति व्यवस्था र अमनचयन कायम गरी तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध रहेको स्पष्ट पारिएको छ ।   “मुलुकमा शान्ति सुरक्षा कायम राख्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सबैको आपसी संवाद, समन्वय र सहयोग अपरिहार्य रहेको छ । यसका लागि सबै पक्षले आआफ्नो कार्यक्रम सञ्चालन गर्दा स्थानीय प्रशासनसँग समन्वयमा शान्तिपूर्वक तरिकाले व्यवस्थित र मर्यादापूर्वक सञ्चालन गर्नु गराउनु वाञ्छनीय रहन्छ”, विज्ञप्तिमा उल्लेख छ ।

बाराको जितपुर सिमरा क्षेत्रको जनजीवन सामान्य हुँदै गएसँगै आज दिउँसोदेखि लगाइएको कर्फ्यु आदेश राति ८ः०० बजे देखि हटाइएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रमा उत्पन्न तनावपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय बाराले आज दिउसो १२ः३० बजेदेखि जारी गरेको कफ्र्यू आदेश राति ८ः०० बजेसम्म कायम रहेको थियो । बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जिल्ला सुरक्षा समितिको आज राति ८ः०० बजे बसेको बैठकले कफ्र्यू आदेशको समय थप नगरेको र सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै आगामी कदम चाल्ने निर्णय गरेको बताउनुभयो । कफ्र्यू कायमै रहेको अवस्थामा समेत पूर्व पश्चिम राजमार्ग र त्रिभुवन राजपथ हँुदै सञ्चालित यातायात वीरगंजको गण्डक र पथलैयाको बारामा दिउँसोदेखि अलपत्र परेपछि साँझ ६ः०० बजेदेखि दुवै राजमार्गमा यातायात सञ्चालन गरिएको थियो ।

नेकपा एमालेका महासचिव शङ्कर पोखरेल र नेता महेश बस्नेत बिहान १०ः३० बजे बुद्ध एयरमार्फत बाराको नितनपुरमा आयोजित बृहत् युवा भेलालाई सम्बोधन गर्न आउने सूचना सार्वजनिक भएपछि जेनजी समूहले सिमरा विमानस्थल आसपास क्षेत्रमा प्रदर्शन शुरु गरेका थिए । सो क्रममा जेनजी समूह र एमाले निकट युवा संघका कार्यकर्ता बिच झडप भएपछि स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय बाराले कफ्र्यू आदेश जारी गरेको थियो ।

ताजा समाचार

Related Articles