काठमाडौँ, मङ्सिर ६ गते। नेपाली कांग्रेस केन्द्रीय समितिको आज बसेको बैठकले वर्तमान राजनीतिको उचित निकास निर्वाचन नै भएको ठहर गर्दै आउँदो निर्वाचनमा भाग लिने निर्णय गरेको छ । बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्नुहुँदै पार्टी प्रवक्ता प्रकासशरण महतले आउँदो माग ११ गते हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ गतेलाई तय भएको प्रतिनिधिसभा निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय भएको बताउनुभयो । प्रवक्ता महतले निर्वाचनमार्फत नै संविधानको रक्षा तथा जेन्जी आन्दोलनका क्रममा उठाइएका आवाजलाई संस्थागत रूपमा अगाडि बढाउन सकिन्छ भन्ने दृढ विश्वास रहेको पनि बताउनुभयो ।

यस्तै बैठकले निर्वाचनका लागि भयरहित वातावरण अपरिहार्य रहेको भन्दै तत्काल शान्ति सुरक्षामा सुधार ल्याउन, सुरक्षाकर्मीको मनोबल उच्च बनाउन तथा आम नागरिकमा भयमुक्त वातावरण सुनिश्चित गर्न सरकारसँग माग समेत गरेको छ । प्रवक्ता महतले हाल हजारौँ कैदीबन्दी फरार रहनु, ठूलो परिमाणमा हातहतियार हराउनु, दलहरूले निर्बाध रूपमा कार्यक्रम गर्न नपाउनु जस्ता परिस्थिति अत्यन्त गम्भीर रहेको बताउनुभयो ।

यही असोज २८ मा प्रारम्भ भएको बैठकपछि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“निर्वाचनमार्फत नै संविधानको रक्षा तथा जेनजी प्रदर्शनका क्रममा परिवर्तनका लागि उठाइएका आवाजलाई संस्थागत रूप दिँदै देशलाई अघि बढाउन सकिन्छ भन्ने हाम्रो दृढ विश्वास छ । निर्वाचनका लागि भयरहित वातावरण अपरिहार्य छ, तर हाल हजारौँ कैदीबन्दी फरार रहेका, ठूलो परिमाणमा हातहतियार हराएका, राजनीतिक दलहरूले निर्बाध रूपमा आफ्ना कार्यक्रम सञ्चालन गर्न नपाइरहेका र निर्वाचनका लागि आवश्यक न्यूनतम अवस्था पनि स्थापित हुन नसक्नुलगायत सबै परिस्थितिहरू अत्यन्त गम्भीर छन् । त्यसैले तत्काल शान्तिसुरक्षामा सुधार ल्याउन, सुरक्षाकर्मीको मनोबल उच्च बनाउन तथा आम नागरिकमा भयमुक्त वातावरण सुनिश्चित गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।”




