काठमाडौँ, मङ्सिर ११ गते । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमा सहभागी भई जनताको मत जितेर आफ्ना राजनीतिक मुद्दा सम्बोधन गर्ने प्रक्रियामा आफैँ सहभागी हुन आग्रह गर्नुभएको छ ।

सार्वभौम नागरिक पार्टीका सभापति गणेशकुमार मण्डल नेतृत्वको एक प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री कार्कीले मुलुक निर्माणमा सबैको सहयोग आवश्यक भएकाले निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभयो । वर्तमान सरकारसँग विभिन्न पक्षका धेरै अपेक्षा भए पनि आफूहरू जेनजी आन्दोलनबाट प्राप्त जनादेशअनुरुप सुशासन र निर्वाचनलाई केन्द्रमा राखेर अघि बढिरहेको उहाँले बताउनुभयो ।

सार्वभौम नागरिक पार्टीका सभापति मण्डलले आगामी फागुन २१ को निर्वाचन सहज ढङ्गले गराउन आवश्यक पूर्वाधारको व्यवस्था गर्न आग्रह गर्नुभयो । प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसमक्ष विभिन्न मागसहित प्रज्ञापन पनि बुझाएको थियो ।




