काठमाडौँ, मङ्सिर ११ गते । प्रधानमन्त्री सुशीला कार्कीले आज नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेताहरुसँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ । एमाले नेताहरुसँगको छलफलमा प्रधानमन्त्री कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनमा सघाउन आग्रह गर्नु भएको थियो ।

एमाले महासचिव शंकर पोखरेलसहितका नेताहरुसँग प्रधानमन्त्री निवास वालुवाटारमा भेटवार्ता गरी उहाँले चुनाव गराउन आफू प्रतिबद्ध रहेको भन्दै सहयोगका लागि आग्रह गर्नु भएको हो । नयाँ सरकार बनेपछि प्रधानमन्त्री कार्की र एमाले नेताहरूबीच पहिलो पटक संवाद भएको हो । वार्तामा सहभागी एमाले उपमहासचिव प्रदीप ज्ञवालीले निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्रीलाई आग्रह गरेको जानकारी दिनु भयो । उहाँले लुटिएका हातहतियार र कैदी बन्दीका कारण निर्वाचनमा त्रास बढ्ने भन्दै यसलाई सल्ट्याउन प्रधानमन्त्रीसँग आग्रह गरिएको जानकारी पनि दिनुभयो ।

यसैबीच आजै प्रधानमन्त्री कार्की र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरबीच पनि भेटवार्ता भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले अध्यक्ष ठाकुरलाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि वातावरण बनाउनका लागि सक्दो भूमिका खेलिदिन आग्रह गर्नुभयो । अध्यक्ष ठाकुरले आफूहरू चुनावको तयारीमा रहेको जानकारी दिनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।




