चिकित्सक कुटपिट घटनाः चार जना पक्राउ

लोकप्रिय

हेटौँडा, भदौ २८ गते ।

हेटौंडा उपमहानगरपालिका १ स्थित सञ्चो अस्पतालका चिकित्सकमाथि भएको कुटपिट घटनामा संलग्न भएको अभियोगमा मकवानपुर प्रहरीले चार जनालाई प्रक्राउ गरेको छ।

हेटौंडा उपमहानगरपालिका १२ स्थित पदम पोखरीका राजेश प्रधानको चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै अस्पतालभित्रै डाक्टरद्वय विकास थापा र प्रशान्त बिडारीमाथि बुधबार कुटपिट गरिएको थियो। प्रधानको डेङ्गु रोगका कारण उपचारका क्रममा गत साउनमा मृत्यु भएको थियो। 

चिकित्समाथि कुटपिट भएको घटनामा संलग्न भएको अभियोगमा मकवानपुर प्रहरीले मृतकका श्रीमती, छोरा, छोरी र भतिजलाई बिहीबार नियन्त्रणमा लिएको हो। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले मृतकका श्रीमती रमा, छोरा अमित, छोरी रमिता र भतिज अनुपलाई पक्राउ गरिएको जानकारी दिनुभयो। उहाँले पक्राउपछि घटनाको अनुसन्धानसँगै घटनामा संलग्न अन्यको खोजी कार्य भइरहेको बताउनुभयो। 

यसअघि मकवानपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखसहित हेटौंडा अस्पतालमा बिहीबार स्वास्थ्यकर्मीको भेला भएको थियो। भेलामा चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल सञ्चालकहरुले घटनामा संलग्न भएकालाई तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अगाडि नबढाएमा सामूहिक राजीनामासँगै शुक्रबारबाट आकस्मिक बाहेकका सेवा बन्द गर्ने चेतावनी स्वास्थ्यकर्मीले दिएका थिए। 

मकवानपुरमा प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईं र प्रहरी प्रमुख सीताराम रिजालले शान्ति सुरक्षाको प्रत्याभूति दिने र घटनामा संलग्नलाई पक्राउ गर्ने भन्दै आन्दोलन नगर्न आग्रह गर्नुभएको थियो। तर स्वास्थ्यकर्मीले तत्काल पक्राउ नगरेमा आन्दोलनको विकल्प नभएको दोहो¥याएपछि प्रहरीले घटनामा संलग्न भएकाहरुलाई पक्राउ गर्न थालेको हो। 

भेलामा हेटौंडा अस्पतालको सुपरिटेण्डेण्ट डा. रामचन्द्र सापकोटाले स्वास्थ्यकर्मी असुरक्षित बनेको भन्दै एक महिना अघिभएको मृत्यु घटनामा कुटपिट गरेर प्रहरी कार्यालय परिसरमा कुटपिटमा संलग्न भएका आउँदासमेत पक्राउ नगर्नु प्रहरीको चरम लापरबाही भएको बताउनुभएको थियो। 

गत साउन २२ गते सञ्चो अस्पतालमा डेङ्गु रोगको लक्षण लिइ उपचार गर्न सञ्चो अस्पताल आएका ४१ वर्षीय राजेश प्रधानलाई थप उपचारका लागि भदौ २३ गते चितवनको अस्पतालमा उपचारका लागि पठाइएको थियो। चितवनमा थप उपचारका लागि गएका प्रधानको उपचारको क्रममा साउन २५ गते मृत्युभएको थियो।

ताजा समाचार

Related Articles