हेटौँडा, असार १० गते । तेस्रो बागमती प्रदेश खेलकुद प्रतियोगिता–२०८३ को उपाधि काठमाडौँले जितेको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा असार १ गतेदेखि सुरु भएको प्रतियोगितामा काठमाडौंले सर्वाधिक ५१ स्वर्ण, ३८ रजत र ४२ कास्य गरी कुल १३१ पदक जित्दै च्याम्पियन बनेको हो । प्रतियोगिताको अन्तिम दिन मंगलबार फुटबलका फाइनल खेल सम्पन्न भएसँगै गौरीटार फुटबल मैदानमा समापन तथा पुरस्कार वितरण गरिएको थियो ।
प्रतियोगितामा ललितपुरले ४६ स्वर्ण, ४१ रजत र ४४ कास्य पदक जितेको छ । चितवन ३० स्वर्ण, २८ रजत र २७ कास्य गरी कुल ८५ पदकसहित तेस्रो भएको छ । प्रथम भएको काठमाडौँले नगद एक लाख रुपियाँ, दोस्रो भएको ललितपुरले ७५ हजार रुपियाँ र तेस्रो भएको चितवनले ५० हजार रुपियाँसहित ट्रफी प्राप्त गरेका छन् ।
प्रतियोगिताको फुटबलको पुरुषतर्फको उपाधि चितवनले र महिला फुटबलतर्फ काठमाडौँ च्याम्पियन बनेको छ । मंगलबार बिहान हेटौँडा–५ स्थित पिप्ले रंगशालामा भएको महिलातर्फको फाइनलमा काठमाडौँले चितवनलाई १–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
यस्तै, पुरुषतर्फको फाइनलमा चितवनले मकवानपुरलाई टाइब्रेकरमा पराजित गर्दै उपाधि जित्यो । निर्धारित समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा चितवनले मकवानपुरलाई ३–१ गोल अन्तरले हराएको हो ।
अन्तिम पदक तालिकाअनुसार काभ्रेपलाञ्चोक २२ स्वर्ण, १८ रजत र १८ कास्य गरी ५८ पदकसहित चौथो स्थानमा रह्यो । भक्तपुरले १७ स्वर्ण, २२ रजत र ३६ कास्य गरी ७५ पदक, मकवानपुरले ११ स्वर्ण, १० रजत र ३२ कास्य गरी ५३ पदक, सिन्धुपाल्चोकले १० स्वर्ण, ११ रजत र १० कास्य गरी ३१ पदक, नुवाकोटले ९ स्वर्ण, १३ रजत र २० कास्य गरी ४२ पदक, धादिङले ९ स्वर्ण, १० रजत र २१ कास्य गरी ४० पदक जितेका छन् । रामेछापले ८ स्वर्ण, ३ रजत र २१ कास्य, सिन्धुलीले २ स्वर्ण, ११ रजत र २२ कास्य, रसुवाले २ स्वर्ण, ७ रजत र ४ कास्य तथा दोलखाले १ स्वर्ण, ३ रजत र १४ कास्य पदक जितेका छन् ।
प्रतियोगितामा बागमती प्रदेशका १३ वटै जिल्लाको सहभागिता थियो । विभिन्न १५ खेल विधामा २१७ स्वर्ण, २१४ रजत र ३११ कास्य गरी कुल ७४४ पदकका लागि खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा १ हजार ५१५ पुरुष र १ हजार १९२ महिला गरी कुल २ हजार ७०७ खेलाडी सहभागी भएका थिए । प्रतियोगिताका खेलहरू हेटौँडा, चितवन, ललितपुर र काठमाडौंका विभिन्न खेलस्थलमा सञ्चालन गरिएको थियो ।
महिला भलिबल ललितपुरको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा र पुरुष भलिबल काठमाडौंको त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको थियो । महिला क्रिकेट र कराते चितवनमा, पौडी ललितपुरमा तथा उसु, जुडो र टेबलटेनिस काठमाडौंमा सञ्चालन गरिएको थियो । फुटबल, पुरुष क्रिकेट, बक्सिङ, एथ्लेटिक्स, ब्याडमिन्टन, तेक्वान्दो, बुद्धिचाल, फूलकन्ट्याक कराते र आईटिएफ तेक्वान्दो हेटौँडामा सञ्चालन भएको आयोजकले जनाएको छ ।
समापन समारोह बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाको अध्यक्षता तथा बागमती प्रदेश सरकारकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपालको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा सदस्य सचिव लामाले सीमित समय र पूर्वाधारका बीच पनि प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो ।
कार्यक्रममा मन्त्री नेपालले प्रदेश सरकारले खेलकुद नीति निर्माणको काम अघि बढाएको बताउनुभयो ।
प्रत्येक खेलका विजेता टोलीलाई पुरस्कार र ट्रफी तथा प्रत्येक खेलका सर्वोत्कृष्ट खेलाडीलाई जनही २० हजार रुपियाँ पुरस्कार प्रदान गरिएको थियो ।




