निर्वाचनले नेपालको राजनीतिमा एउटा नयाँ, स्वच्छ र सुनौलो अध्यायको सुरुवात गर्ने

लोकप्रिय

काठमाडौँ, पुस ५ गते । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गतेको निर्वाचनलाई परिवर्तनको ढोका उघार्ने राष्ट्रिय अनुष्ठानका रूपमा सम्पन्न गर्न आह्वान गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले सरकार गठनको एक सय दिनमा शनिबार सन्देश जारी गर्दै यो निर्वाचनले नेपालको राजनीतिमा एउटा नयाँ, स्वच्छ र सुनौलो अध्यायको सुरुवात गर्ने उद्घोष गर्नुभएको हो ।

उहाँले जेनजी आन्दोलनको भावना अनुसार सरकारले सुशासन र निर्वाचनलाई नै अर्जुनदृष्टि बनाएको प्रस्ट पार्दै राष्ट्रिय एकताको सूत्रमा बाँधिएर देशलाई नयाँ दिशातिर लैजान आह्वान गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “म यही मञ्चबाट देश र दुनियाँलाई प्रस्ट पार्न चाहन्छु, फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई स्थिरता दिने र नयाँ युगको सुरुवात गर्ने एक मात्र निर्विकल्प मार्ग हो ।”

प्रधानमन्त्री कार्कीले निर्वाचन सार्ने वा रोक्ने जस्ता हल्ला पूर्णतः निराधार र भ्रमपूर्ण रहेको र सरकार तोकिएको समयमै निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न चट्टान झैँ दृढ रहेको प्रस्ट पार्नुभएको छ । उहाँले राष्ट्रिय एकताका लागि आह्वान गर्दै चुनावमा कसले जित्छ वा कसले हार्छ भन्ने कुरा गौण रहेको र लोकतन्त्र र राष्ट्रियताले जित्नु नै सबैभन्दा महत्वपूर्ण उपलब्धि हुने बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “अराजकताले कसैलाई खुसी दिँदैन, केवल शान्ति र स्थिरताले नै समृद्धिको ढोका खोल्छ ।”

ताजा समाचार

Related Articles