कैलाशका चेपाङ दम्पत्तिलाई मुख्यमन्त्री बानियाँद्वारा घर हस्तान्तरण

लोकप्रिय

हेटौँडा, पुस ६ गते । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफूले प्राप्त गर्ने सेवा सुविधावापतको रकमबाट मकवानपुरको कैलाश गाउँपालिका–४ का एक विपन्न चेपाङ दम्पत्तिका लागि घर निर्माण गरी हस्तान्तरण गर्नुभएको छ । मुख्यमन्त्री बानियाँले कैलाश गाउँपालिका–४ का लालकुमार चेपाङ र उहाँकी पत्नी सानुमाया चेपाङलाई आइतबार एक कार्यक्रमका बिच हस्तान्तरण गर्नुभएको हो ।

कैलाश गाउँपालिकाले अति विपन्न परिवारको पहिचान गरी घर निर्माण गर्न मुख्यमन्त्री बानियाँलाई सिफारिस गरेको थियो । करिब आठ लाख रुपियाँको लागतमा तीन कोठे जस्ताले छाएको घर र शौचालय निर्माण गरिएको नेपाली कांग्रेस कैलाश गाउँपालिका सभापति राजेन्द्र घिसिङले जानकारी दिनुभयो । पचास वर्षीय लालकुमार विगत लामो समयदेखि जीर्ण र असुरक्षित घरमा बस्दै आउनुभएको थियो । सानै उमेरमा हात जलेर सानुमाया आंशिक अपाङ्गता हुनुहुन्छ । दुई कट्ठा नम्बरी र झण्डै तीन–चार कठ्ठा ऐलानी जग्गा छ, तर आर्थिक अभावका कारण उनीहरू असुरक्षित घरमा बस्दै आएका थिए ।
घर निर्माणसँगै लत्ताकपडाको व्यवस्थापन कैलाश गाउँपालिकाले गरिदिने गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताउनुभयो ।
घर हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री बानियाँले विपन्न नागरिकलाई आफूले सेवा सुविधाको रकम खर्च गरेर घर निर्माण गर्नुका साथै प्रदेश सरकारमार्फत पनि आवास कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।
आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरू गाँस, बास र कपासबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले काम अघि बढाएको भन्दै उहाँले भन्नुभयो, बागमती प्रदेशभरका गरिब निमुखा, दलित, सिमान्तकृत, एकल महिलालगायतलाई समेटेरे एक हजार वटा घर निर्माण गरी हस्तान्तरण गर्ने योजनाका साथ प्रदेश सरकारले कार्यविधि बनाएर अघि बढ्न लागेको छ । घर निर्माणसँगै उनीहरुलाई आयआर्जनका लागि बिना ब्याजमा प्रति परिवार दुई लाख रुपियाँ ऋणसमेत दिइने मुख्यमन्त्री बानियाँले सुनाउनुभयो ।

मुख्यमन्त्री बानियाँले चेपाङ दम्पत्तिलाई आयआर्जनका लागि बाख्रापालन गर्न अनुरोध गर्दै नगद २० हजार रुपियाँसमेत सहयोग हस्तान्तरण गर्नुभयो ।
मुख्यमन्त्री बानियाँले आफ्नो सेवा सुविधाको रकमबाट यसअघि मकवानपुरको मनहरी गाउँपालिका–९ की मिठुमाया सुनारका लागि घर निर्माण हस्तान्तरण गर्नुभएको छ भने राक्सिराङ गाउँपालिका–१ का सुमनसिं प्रजाको घर निर्माणको क्रममा रहेको छ ।
घर हस्तान्तरण कार्यक्रममा कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामालगायतले बोल्नुभएको थियो ।

ताजा समाचार

Related Articles