चिसोका कारण मकवानपुरका दुई पालिकाका विद्यालय दुई दिन बिदा

लोकप्रिय

मकवानपुर, पुस १७ गते । तराई मधेशका जिल्लामा विगत केही दिनदेखि परेको शीतलहरको प्रभाव मकवानपुर जिल्लामा समेत परेको छ । गत दुई दिनदेखि शीतलहरसँगै चिसो अधिक बढेपछि हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाले दुई दिनका लागि विद्यालयको पठनपाठन बिदा गर्ने निर्णय गरेको छ ।

हेटौँडा उपमहानगरपालिका क्षेत्रमा सञ्चालनमा रहेका मन्टेश्वरीसहितका सामुदायिक तथा संस्थागत विद्यालय बिहीबार र शुक्रबारका बिदा गरिएको हेटौँडा उपमहानगरपालिकाका अधिकृतस्तर आठौँ हरिश्चन्द्र सापकोटाद्वारा जारी सूचनामा उल्लेख छ । यस्तै मनहरी गाउँपालिकाका शिक्षा अधिकृत प्रदीप पराजुलीले शीत लहरको प्रभावका कारण दुई दिन विद्यालय बन्द गरिएको जानकारी दिनुभयो ।

विगत केही दिनदेखि परेको शीतलहरको प्रभावको प्रत्यक्ष असर विद्यालय तथा बालबालिकासमा परेको र पठनपाठनमा समस्या पर्न गएको गएको भन्दै ती दुई पालिकाले बिदा गरेको जनाएका छन् । विद्यालयले वार्षिक रुपमा विद्यालय व्यवस्थापन समितिको निर्णयमा खर्च गर्न सक्ने स्थानीय बिदाबाट कट्टा हुने गरी जाडो बिदा दिइएको छ ।

स्थानीय बिदा खर्च भइसकेको विद्यालयको हकमा शनिबार र अन्य सार्वजनिक बिदाको दिनसमेत पठनपाठन गरी क्षति पुरण गर्ने गरी दुई दिन जाडो बिदा गरिएको हो । साथै भौतिक रुपमा व्यवस्थित भएका विद्यालयले यी दिनहरुमा विद्यालय खोल्न चाहेमा वा मौसममा सुधार देखिएमा विद्यालय नियमित सञ्चालन गर्न सकिने जनाइएको छ ।

ताजा समाचार

Related Articles