हेटौँडा, पुस २० गते । ट्राफिक प्रहरीलाई घाईते बनाई फरार कार चालक र सवारी धनीविरुद्ध मुद्दा दर्ता गरिएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नं. ११ स्थित थानाभ¥याङमा सवारी जाँचमा खटिएका प्रहरी जवानलाई घाईते बनाई फरार भएको अभियोगमा सवारी चालक हेटौँडा वडा नं. ४ गर्दोईका बासुदेब आचार्यविरुद्ध ज्यान मार्ने उद्योग
अन्तर्गत आइतबार मुद्दा दर्ता गरिएको हो ।

गत बिहीबार साँझ प्रहरी जवानलाई घाईते बनाई फरार भएको घटनाको सम्बन्धमा चालक ४६ वर्षीय आचार्यलाई ज्यान मार्ने उद्योग कसुरमा मकवानपुर जिल्ला अदालत हेटौँडाबाट १० दिनको म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उक्त घटनामा संलग्न सवारी र चालकलाई भगाउन सहयोग गर्ने सवारी धनी हेटौँडा वडा नं. १९ की ४३ वर्षीया राधिका बिकलाई अभद्र व्यवहार मुद्दामा म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।

प्रहरीले ब्रेथलाईजर मेसिनबाट मादक पदार्थ सेवन जाँच गर्ने क्रममा कार चालक आचार्यले एक्कासी सिसा बन्द गरी भाग्ने क्रममा प्रहरी जवानलाई अन्दाजी १० मिटर घिसारी घाईते बनाई फरार भएका थिए । उक्त कारको खोजतलास गर्ने क्रममा शुक्रबार भरतपुरबाट बा ६ च ८४०९ नं. कार र चालक आचार्यलाई कारमा रहेको ब्रेथलाईजर मेसिन सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।




