काठमाडौँ, पुस २३ गते। काठमाडौँको शङ्खरापुर नगरपालिका–३ स्थित फेरी जङ्गलमा आज साँझ भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले चार जनाको मृत्यु पुष्टि भएको र २२ जना घाइते भएको जानकारी दिनुभयो ।

मृतकको सनाखत हुन सकेको छैन । यहाँ वनभोज खाएर फर्किएको बा४ख ८७८८ नम्बरको बस दुर्घटनामा हुँदा उनीहरूको मृत्यु भएको उहाँले बताउनुभयो । साँझ ६ बजेतिर उक्त बस दुर्घटना भएको थियो । दुर्घटनामा २२ जना घाइते भएका छन् । उनीहरूको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको नेपाल मेडिकल कलेज, शङ्खरापुर अस्पताल, मूलपानी नगर अस्पतालमा र सुष्मा कोइराला अस्पताल सउपचार भइरहेको छ ।

उक्त बसमा ४० जना सवार रहेका जनाइएको छ । ‘नेचर हर्व’ संस्थाका कर्मचारी वनभोज खाएर आएको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।




