खासकुरा संवाददाता
हेटौँडा, माघ १ गते । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले अनेकतामा एकता हाम्रा साझा पहिचान
भएको बताउनुभएको छ ।
माघे सङ्क्रान्ति एवम् माघी पर्वको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै उहाँले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान हाम्रा साझा पहिचान भएको बताउनुभएको हो ।

उहाँले बागमती प्रदेश सरकार धर्म, संस्कृति र परम्पराको सम्मान गर्दै सबै समुदायबिच एकता र सहअस्तित्व कायम राख्न प्रतिबद्ध रहेको भन्दै प्रदेशभित्र बसोबास गर्ने जातजातिका संस्कृतिहरूको संरक्षण तथा प्रवर्धन गर्दै तिनको विकासको लागि आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।
यस पर्वले हाम्रो समाजमा विद्यमान सबै प्रकारका सामाजिक विभेद र विसंगतिहरूलाई अन्त्य गर्दै समतामूलक एवम् सुसंस्कृत समाजको निर्माणका लागि हामी सबैलाई प्रेरणा मिल्ने अपेक्षा सहित उहाँले स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दिदीबहिनी एवम् दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।
माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारु समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् । मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रूपमा धूमधामकासाथ मनाउँछन् भने नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजातिले यस पर्वलाई आ–आफ्ना परम्परा, भिन्न भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन् ।

तरुललगायतका कन्दमूल तथा घिउ, चाकु, तिलको लड्डु र खिचडी लगायतका परिकार खाई मनोरञ्जन पूर्वक खुसी साटासाट गरी मनाइने यस पर्वले हामी नेपालीबिच बन्धुत्व, एकता र सद्भाव कायम राख्न मद्दत पु¥याएको छ उहाँले शुभकामना सन्देशमा भन्नुभएको छ, यस्ता चाडपर्व र संस्कृतिहरूको संरक्षण तथा संवद्र्धन गर्नु हामी सबैको दायित्व हो ।
उहाँले चाडपर्वलाई समृद्ध बनाएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धि सहितको सामाजिक परिवर्तनलाई संस्थागत गर्न बागमती प्रदेश सरकार दृढ सङ्कल्पित रहेको आफ्नो शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।




