सत्ता गठबन्धनबाट निकाल्ने षड्यन्त्र भइरहेको छ 

लोकप्रिय

काठमाडौँ, असोज १ गते ।

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको बताउनुभएको छ । 

सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले गठबन्धनलाई कमजोर पार्नका लागि आफ्नो पार्टीलाई बाहिर निकाल्ने काम भइरहेको बताउनुभयो । उहाँले सबै सो षड्यन्त्रबाट होसियार रहन आग्रह गर्नुभयो । उहाँले गठबन्धनलाई बलियो बनाउने जिम्मेवारी आफूहरूको रहेको बताउनुभयो ।

गठबन्धन बनाउने काममा भूमिका आफूहरूले नै खेलेको भन्दै गठबन्धन पनि आफूले नै जोगाउनुपर्ने बताउनुभयो । अनुचित कुराका विरुद्धमा सङ्घर्ष गर्ने र नयाँ स्तरको उन्नत कम्युनिष्टहरुको एकता कायम गर्दै अघि बढ्ने नीति आफूहरूको रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘आज गठबन्धनलाई धारेहात लगाएर यसलाई कमजोर पार्नका लागि अनि यसबाट हाम्रो पार्टीलाई बाहिर निकाल्नका लागि जुन किसिमको षड्यन्त्र भइरहेको छ । त्यसबाट होसियार हुनका लागि म सबैलाई आह्वान गर्न चाहन्छु । त्यसैले गठबन्धनलाई बलियो बनाउने हाम्रो जिम्मेवारी हो । गठबन्धन बनाउने काममा भूमिका हामीले नै खेलेको हो । विगतमा पनि हामीले भूमिका खेलेको हो । अहिले पनि हामीले भूमिका खेलेको हो । हामी कसैले तानेर गएको होइन । हामीले तानेर ल्याएको हो । यो कुराप्रति गौरवबोध गर्नुपर्छ । हामीले गठबन्धनलाई जोगाउने, बढाउने काममा भूमिका खेल्नुपर्छ ।’’

उहाँले भन्नुभयो, ‘‘कमजोरी भएका छन् भने आलोचना गर्न सकिन्छ । बेठिक भए त्यसको पनि आलोचना गर्न सकिन्छ । आलोचना गर्नु भनेको कमजोरीलाई सुधार गर्नका लागि हो, मिलेर अघि बढ्नका लागि हो । हामीले लिने गरेको नीति के हो भने एकता पनि गर्ने, अनुचित कुराका विरुद्धमा सङ्घर्ष पनि गर्ने र सङ्घर्ष गरेर नयाँ स्तरको उन्नत कम्युनिष्टहरुको एकता कायम गर्दै अघि बढ्ने हो । एकता, सङ्घर्ष र उन्नत स्तरको एकता गर्ने हो ।’’

अध्यक्ष नेपालले व्याख्यात्मक घोषणाको रूपमा एमसिसी पास नगरेको भए नेपालको हात तल पर्ने, नेपालको स्वाभिमानले नतमस्तक हुनुपर्ने स्थिति आउने दाबी पनि गर्नुभयो । उहाँले व्याख्यात्मक घोषणापछि मात्रै पास गर्नाले विदेशीको गुलाम बन्नु नपरेको बताउनुभयो । उहाँले एमसिसीको घोर विरोध गरेको कारण वाहवाही पाउने भए मजदुर किसान पार्टी र मोहनविक्रम सिंहको पार्टीले सय सिट कटाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘विगतमा भएका सरकारहरूले केही सम्झौता गरेका थिए । त्यस सम्झौतालाई एमसिसी भनिन्छ । मिलिनियम कम्प्याक्ट कोप्रेशनले जुन एउटा योजना ल्यायो, पहिले त्यो बेलामा कम्युनिष्ट पार्टीकै सरकार थियो । केपी ओलीकै सरकार पनि थियो । परराष्ट्रमन्त्री पनि थिए । कमी कमजोरी हामीले देख्यौँ । हाम्रो मुलुकको स्वाधीनतामा स्वाभिमानमा, परराष्ट्र नीतिमा असर पर्ने कुरा देख्यौँ । त्यसपछि हामीले व्याख्यात्मक टिप्पणी भनेर त्यसको अङ्ग बनाएर पारित गरेका छौँ । केही पार्टीले केही थप्नु पर्दैन, संशोधन परिमार्जन गर्नुपर्दैन, यथास्थितिमा पास गर्नुपर्छ भनेका थिए ।  हामीले व्याख्यात्मक घोषणाको रूपमा थप्ने काम नगरेको भए एमसिसी यथास्थितिमा पास हुने थियो । नेपालको हात तल पर्ने थियो, नेपालको स्वाभिमानले नतमस्तक हुनुपर्दथ्यो ।  ’’

उहाँले आफ्नो पार्टीको पहल कदमीमा व्याख्यात्मक टिप्पणी ल्याएर हाम्रो देशको स्वाभिमानको रक्षा गरेका छौँ । असंलग्न परराष्ट्र नीतिको रक्षा गरेका छौँ । केही मानिसको गीत नै एमसिसी अस्वीकार गर्नुपर्दथ्यो भन्ने छ । त्यो गरेर हामीलाई सरकारबाट फालिदिने, पार्टीलाई कमजोर बनाउने, अमेरिकन स्वार्थको रक्षा हुने, विदेशीको हालीमुहाली चल्दा तमासा हेरेर बस्ने, जनताले हाम्रो वाहवाही गर्ने थिए भनेर कल्पना गर्न सकिँदैन । एमसिसीको घोर विरोध गरेको मजदुर किसान पार्टी विरोध गरेको कारण वाहवाही पाउँथ्यो भने देशव्यापी फैलिसक्थ्यो । एमसिसी विरोधकै आधारमा हुने भए मोहनविक्रमजीहरुको पार्टीलाई सारा देशका जनताले भोटै भोट खसालेर सय सिट दिन्थे । हुँदो रहेनछ ।’’

अध्यक्ष नेपालले एमसिसीको विरोध गर्न लगाएर आफ्नो पार्टीलाई सरकारबाट फाल्ने कुचेष्टा भएको बताउनुभयो ।

ताजा समाचार

Related Articles