थाहा नगरको शङ्खमूलमा विविध धार्मिक कार्यक्रम हुँदै

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, साउन १० गते । मकवानपुरको थाहा नगरपालिका–३ स्थित पवित्र शंखमूल त्रिवेणी मोक्षधाममा १०८ शंखधारा जलअभिषेक, महागंगा आरती, भक्ति संगीत तथा आध्यात्मिक प्रवचनसहित विविध धार्मिक कार्यक्रम हुने भएको छ ।
विश्वको पवित्र तीन शंखमूलमध्ये एक पवित्रस्थल शंखमूल त्रिवेणी मोक्षधाममा सोमबार आध्यात्मिक कार्यक्रम हुनेभएको हो ।
शंखमूल त्रिवेणी मोक्षधामलाई धार्मिक आस्था, तपस्या, ध्यान र मोक्ष प्राप्तिको पावन तीर्थस्थलका रूपमा मानिन्छ । त्रिवेणी मोक्षधाममा पछिल्ला दिनहरुमा नियमित गंगा आरती, धार्मिक अनुष्ठान तथा आध्यात्मिक गतिविधि सञ्चालन हुँदै आएको छ ।
कार्यक्रममा श्री १००८ स्वामी चतुर्भुजाचार्य चुडामणिजी महाराजको मुखारविन्दबाट विशेष आध्यात्मिक प्रवचन हुने आयोजक मोक्षधाम शंखमूल नेपालले जनाएको छ ।
साथै १०८ शंखधाराबाट जलअभिषेक, भजन–कीर्तन, सम्मान कार्यक्रम तथा भव्य महागंगा आरती र प्रसाद वितरण गरिने छ ।
थाहा नगरपालिकाका उपप्रमुख भरत गोपालीले शंखमूल त्रिवेणी मोक्षधामलाई धार्मिक तथा पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न नगरपालिकाले निरन्तर का मगर्दै आएको बताउनुभयो ।
उहाँले महागंगा आरती र आरोग्य पदयात्राजस्ता कार्यक्रमले धार्मिक आस्था, स्वास्थ्य सचेतना र पर्यटन प्रवद्र्धनलाई एकसाथ जोड्ने भएकाले नगरवासीलाई कार्यक्रममा सहभागिताका लागि आग्रह गर्नुभयो ।
यसैबीच, साउन १२ गते बिहान ७ बजे दामन बजारबाट ऋषेश्वर मन्दिरसम्म “आरोग्य पदयात्रा“ आयोजना गरिने भएको छ । स्वस्थ जीवनशैली, धार्मिक पर्यटन प्रवद्र्धन तथा प्राकृतिक सम्पदाको संरक्षण गर्ने उद्देश्यका साथ पदयात्रा आयोजना गर्न लागिएको हो ।
कार्यक्रमको अवसरमा थाहानगरको शिखरकोटबाट पैदलयात्रा कार्यक्रम राखिएको छ । ‘आरोग्य पैदलयात्रा’ शिखरकोट हुँदै शंखमूलसम्म पुग्ने संस्थाका अध्यक्ष गुप्तबहादुर कार्कीले जानकारी दिनुभयो । अध्यक्ष कार्कीका अनुसार शंखमूलमा निर्माण भएको धारामा स्थानीयको लगानी रहेको छ ।
सोमबार शंखमूलमा भजनकीतृन, गंगा आरतीसहित प्रसाद वितरणसम्मको कार्यक्रम रहेको संस्थाका सचिव अनिल लामिछानेले जानकारी दिनुभयो ।
हिमवतखण्ड (नेपाल महात्म्य) मा वर्णित पालुङको शंखमूल अत्यन्तै महत्वपूर्ण धार्मिक शक्तिपीठका रूपमा उल्लेख गरिएको छ । विशेष गरी यसलाई पशुपति क्षेत्रको शंखमूल तथा भारतको काशीसँग समान आध्यात्मिक महत्व भएको स्थल मानिन्छ ।
धार्मिक शास्त्रअनुसार विश्वको तीन शङ्खमूलमध्ये ऋषेश्वरबाट उत्तर बगेको नारायणी नदी र पश्चिम त्रिवेणीघाटबाट पूर्व बगेको संगमस्थल नै विश्वको एक शङ्खमूल गंगा भएको जनविश्वास छ । धार्मिक दस्तावेजहरुको आधारमा थाहा नगरपालिका (साविकको पालुङ गाउँ)को ३ नम्बर वडाको घट्टेचौरमा अवस्थित त्रिवेणी शङ्खमूल विश्वकै पवित्रस्थल भएको दावी गरिएको छ । शङ्खमूलको पौराणिक महत्वलाई संरक्षण र प्रवद्र्धन गर्दै शङ्खमूललाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना थाहा नगरपालिकाले बनाएको छ ।

ताजा समाचार

Related Articles