मकवानपुर, माघ २ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मकवानपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । कार्यालयको मकवानपुर जिल्ला अदालतका न्यायाधीश एवं मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठ र बागमती प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारीले शुक्रबार संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

दुई वटा निर्वाचन क्षेत्र रहेको मकवानपुरको निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गर्दै मुख्य निर्वाचन अधिकृत श्रेष्ठले निर्वाचनमा सही सूचना आग्रह गर्नुभयो । उहाँले भ्रमपूर्ण र मिथ्या सूचनाले समस्या सिर्जना गर्ने भन्दै निर्वाचन भयरहित, स्वतन्त्र र निष्पक्ष रुपमा हुने विश्वास दिलाउनुभयो ।
बागमती प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारीले देश निर्वाचन उन्मुख भएको भन्दै निर्वाचन सम्पन्न गर्न प्रदेश सरकारले आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा, मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलगायतको उपस्थिति रहेको थियो।




