पर्वहरुले सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण सहयोग पुगेको छ

लोकप्रिय

मकवानपुर, माघ ५ गते । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले पर्वहरुले नेपालीबिच सामाजिक सद्भाव कायम गर्न महत्वपूर्ण सहयोग पुग्दै आएको बताउनुभएको छ ।
तामाङ समुदायले नयाँ वर्षको रूपमा हरेक वर्ष माघ शुक्ल प्रतिपदाको दिन हर्षोल्लासपूर्वक मनाउने सांस्कृतिक पर्व मञ्जुश्री संवत् २८६२ डुम ÷ मु ल्हो सोनाम ल्होसारको अवसरमा सोमबार एक शुभकामना सन्देश जारी गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले धार्मिक तथा सांस्कृतिक विविधताले सम्पन्न हाम्रो मुलुकमा मनाइने यस किसिमका पर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव कायम गर्न तथा सामाजिक सम्मिलनमा महत्वपूर्ण योगदानका साथै सांस्कृतिक पर्यटनको विकासमा समेत ठुलो सहयोग पुगेको बताउनुभएको छ । यस्ता चाडपर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ पार्न एवम् सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दछन् शुभकामना सन्देशमा भनिएको छ ।
मञ्जुश्री पात्रो अनुसार प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदादेखि मनाइने सोनाम ल्होसार पर्वमा कूल पूजा, प्रकृति पूजा, बुद्धको पूजा गर्ने एवम् आपसमा भेला भई तामाङ सेलो भाकामा गीत गाउँदै नाचगान गर्दै हर्षोल्लासका साथ मनाउने प्रचलन रहिआएको छ। ’ल्होसार’ तामाङ समुदायले विशेष परम्परागत अनि सांस्कृतिक महत्त्वका साथ मनाउने गर्दछन् ।
बागमती प्रदेश भित्रका बहुसङ्ख्यक जाति तामाङ समुदायले यस पर्वलाई नयाँ वर्षको रूपमा मनाइरहँदा यसले विशिष्टीकृत सांस्कृतिक पहिचान स्थापित गरेको र परम्परागत मूल्य मान्यता प्राप्त गरेको महसुस गरेको भन्दै मुख्यमन्त्री बानियाँले बागमती प्रदेश सरकार प्रदेश भित्र बसोबास गर्ने जात जातिका संस्कृतिहरूको संरक्षण तथा प्रवद्र्धन गर्दै पर्यटन विकासका लागि संस्कृतिको जगेर्ना गर्न सदैव तत्पर रहेको बताउनुभएको छ ।

सङ्घीयता पश्चात् बागमती प्रदेश सरकारद्वारा यस प्रदेशमा बसोबास गर्ने बहुसंख्यक जातिका रूपमा रहेको तामाङ समुदायको भाषालाई बागमती प्रदेशमा सरकारी कामकाजी भाषाको रूपमा प्रयोगमा ल्याइएको छ । जसले गर्दा प्रदेशमा तामाङ भाषाको थप संरक्षण एवम् प्रवद्र्धनमा ठुलो टेवा पुग्ने विश्वास मैले लिएको छु शुभकामना सन्देशमा मुख्यमन्त्री बानियाँले भन्नुभएको छ ।
उहाँले ल्होसारले हामी बिच आत्मीयता, आपसी समझदारी, एकता, सामाजिक सद्भाव कायम गर्दै देशको समृद्धि एवम् अमन चयन कायम गर्ने वातावरण निर्माण भई समुन्नत बागमती प्रदेश निर्माण गर्ने तर्फ उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । सोनाम ल्होसार पर्वले हाम्रो सामाजिक सद्भाव कायम गर्दै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्र सुदृढ गर्न र समाजवादको लक्ष्य हासिल गर्न हामी सबै नेपाली एकताबद्ध भई अघि बढ्न प्रेरणा प्रदान गर्नेछ भन्ने अपेक्षाकासाथ शुभकामना व्यक्त गर्दछु मुख्यमन्त्री बानियाँद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

ताजा समाचार

Related Articles