मकवानपुर, माघ ८ गते । बागमती प्रदेश सभा सचिवालयले छ जना प्रदेश सभा सदस्यको स्थान रिक्त भएको जनाएको छ ।
बागमती प्रदेश सभा सचिवालले मङ्गलबार स्थान रिक्ततासम्बन्धी सूचना जारी गर्दै प्रदेश सभा सदस्यको स्थान रिक्त भएको जनाएको हो ।
प्रदेश सभाका सचिव रामकुमार पौडेलले प्रदेश सभा सदस्यहरुले पदबाट राजीनामा दिनुभएसँगै प्रदेश सभा सदस्यको स्थान रिक्त भएको जानकारी दिनुभयो ।

उहाँले नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीका दुई–दुई जना गरी छ जना प्रदेश सभा सदस्यले सोमबारबाट लागू हुने गरी प्रदेश सभाको सदस्य पदबाट राजीनामा दिनुभएको बताउनभयो ।
सचिव रामकुमार पौडेलले प्रदेश सभा नियमावली २०७४ को नियम १८५ को उपनियम (२) बमोजिम प्रदेश सभा सदस्यको स्थान रिक्त भएको भन्दै स्थान रिक्त भएको बारेमा निर्वाचन आयोग र मुख्यमन्त्रीको कार्यालयमा जानकारी पत्र पठाइएको बताउनुभयो । निर्वाचन आयोगमा पत्र पुगेसँगै उपनिर्वाचनका लागि आयोगले आवश्यक प्रक्रिया अगाडि बढाउने छ ।

प्रदेश सभा सदस्यमा २०७९ को निर्वाचनमा दोलखा १ (क) बाट निर्वाचित कांग्रेसका कुन्दनराज काफ्ले, काठमाडौँको ६ (ख) बाट निर्वाचति एमालेका अमनकुमार मास्के र काठमाडौँको ७ (ख) बाट निर्वाचत प्रकाश श्रेष्ठले प्रदेश सभा सदस्य पदबाट सोमबारबाट लागू हुने गरी राजीनामा दिनुभएको थियो ।

सिन्धुपाल्चोक क्षेत्र नं २ (क) बाट निर्वाचित नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का युवराज दुलाल, काठमाडौँको ७ (क) बाट निर्वाचित नेकपाका वसन्तप्रसाद मानन्धर र काठमाडौँको २ (क) बाट निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका सुनिल केसीले सोमबार उपसभामुख अप्सरा चापागाईंसमक्ष सोमबार राजीनामा बुझाउनुभएको थियो । दुलाल तत्कालीन नेकपा माओवादी केन्द्रबाट र मानन्धर तत्कालीन नेकपा एकीकृत समाजवादीबाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएको थियो ।
प्रदेश सभा सदस्यबाट राजीनामा दिने केसी बाहेक पाँच जना प्रदेशका पूर्व मन्त्री हुनुहुन्छ ।




