मकवानपुर, माघ १० गते । यही माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन अन्तर्गत बागमती प्रदेशमा हुने निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि हेटौँडा उपमहानगरपालिका ४ स्थित मतदानस्थल भुटनदेवी माध्यमिक विद्यालयलाई मतदान स्थल तोकेर आवश्यक तयारी गरिएको छ ।
दुई वटा मतदान केन्द्र रहने उक्त मतदान स्थलमा प्रदेश सभाका सदस्यका लागि (क) मतदान केन्द्र र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखका लागि (ख) मतदान केन्द्र बनाइएको छ ।
तयार गरिएको छ ।

प्रदेश निर्वाचन कार्यालय, बागमती प्रदेश, हेटौँडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले सर्वदलीय बैठकसहित मतदान स्थलमा मुचुल्का उठाउने कार्य भएको जानकारी दिनुभयो ।
उहाँले राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रयोग हुने आवश्यक मतपत्र आइसकेको र शनिबार मतदानस्थलको सम्पूर्ण कार्य पूरा हुने बताउनुभयो ।
राष्ट्रिय सभा निर्वाचनका लागि फरक रङ्गको मतपत्र तयार गरिएको छ । प्रदेश सभाका सदस्यले मतदान गर्ने प्रयोजनका लागि हरियो रङ्गको र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने प्रयोजनका लागि रातो रङ्गको मतपत्र रहने छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बागमती प्रदेशका ११० सदस्यीय प्रदेशसभा र ११९ स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष तथा नगरप्रमुख र उपप्रमुख २३८ गरी ३४८ जना रहेको निर्वाचन मण्डल रहेको छ । बागमती प्रदेशबाट महिलातर्फ एक र अन्य क्षेत्रबाट एक गरी दुई सदस्यका लागि चार पार्टीका छ जनाको उम्मेदवारी रहेको छ ।

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्यको मतदाता सूचीमा ३४७ जनाको मात्र नाम रहेको प्रदेश निर्वाचन कार्यालय, बागमती प्रदेश, हेटौँडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो ।




