काठमाडौँ, माघ १३ गते । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन जिल्ला तहमा खटिने अनुगमन अधिकृतहरूलाई विशेष अधिकारसहितको ‘छाप’ प्रयोग गर्न निर्देशन दिएको छ।

आयोगको माघ ९ गतेको निर्णयानुसार ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी र प्रमुख कोष नियन्त्रकलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी दिइएको हो।

आयोगका कानुन अधिकृत मोहनराज जोशीका अनुसार, अनुगमन अधिकृतहरूले निर्वाचन आचारसंहिता, २०८२ को कार्यान्वयनका क्रममा गर्ने पत्राचार र निर्णयहरूमा एकरूपता ल्याउन छुट्टै छापको व्यवस्था गरिएको हो। छापमा ‘निर्वाचन आचारसंहिता अनुगमन अधिकृत, प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२’ उल्लेख हुनेछ।




