खासकुरा संवाददाता
हेटौँडा, माघ १५ गते । नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले गत भदौ २३ को घटनापछि कांग्रेस बदलिएको र अब देशलाई पनि बदल्ने बताउनुभएको छ ।
उहाँले गत भदौ २३ गतेअघि सामाजिक सञ्जालमाथि लगाइएको बन्देजको विरुद्धमा कांग्रेस रहेको भन्दै कांग्रेस जेन्जीको मर्म र भावना अनुसार अगाडि बढ्ने बताउनुभयो ।
कांग्रेस हेटौँडा उपमहानगर समितिको आयोजनामा बिहीबार हेटौँडाको हटिया, पदमपोखरी र नवलपुरमा भएको प्रतिनिधि सभा निर्वाचन २०८२ लक्षित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले कांग्रेस अब नयाँ शिराबाट अगाडि बढेको बताउनुभयो । 

प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर १ का उम्मेदवारसमेत रहनुभएका डिनाले भन्नुभयो, कांग्रेस बदलिएको छ, अब देश पनि बदल्छौ, यही प्रतिबद्धताका साथ जनतामाझ पुग्न साथीहरुलाई आग्रह गर्दछु ।
उहाँले नेपालको संविधान २०७२ मा आफ्नो पनि हस्ताक्षर रहेको स्मरण गर्दै संविधानमा महिला, दलित र जनजाति समुदायको अधिकारलाई सुनिश्चित गर्ने काम भएको बताउनुभयो । अबको हाम्रो गन्तव्य रोजगारी सिर्जना र सुशासन हो उहाँले भन्नुभयो, जेन्जीको मर्म र भावनालाई आत्मसात गर्दै अगाडि बढेका छौ ।
कांग्रेस मकवानपुरका सभापति एवं प्रतिनिधि सभा २ का उम्मेदवार बुद्ध लामाले कांग्रेस बदलिएको र अब देशलाई बदल्ने सङ्कल्पका साथ जनतासमक्ष निर्वाचनमा आएको बताउनुभयो ।
उहाँले देशलाई आर्थिक र सामाजिक रुपमा परिवर्तन गर्ने प्रतिबद्धता कांग्रेसको रहेको भन्दै कांग्रेस विध्वङ्समा नभएर निर्माण विश्वास गर्ने पार्टी भएको बताउनुभयो । देशले परिवर्तन खोजेको छ उहाँले भन्नुभयो, पार्टीले नेतृत्व परिवर्तन गरेको छ, हामीले जनभावना अनुसार गगन थापालाई प्रधानमन्त्री बनाउने घोषणा गरेका छौ अब जनताको साथ र समर्थन पाउनेमा विश्वस्त छौ ।

कांग्रेस मकवानपुरका पूर्व सभापति एवं निर्वाचन परिचालन समितिका संयोजक माइकल रामचन्द्र अर्यालले कांग्रेस एकताका साथ निर्वाचनमा होमिएको भन्दै नागरिकको समृद्धि नै कांग्रेसको संकल्प भएको बताउनुभयो ।
कांग्रेस हेटौँडा उपमहानगर समितिका सभापति उत्सव इटेनीको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुरका पूर्व सभापति रघुरमण न्यौपाने, समानुपातिकतर्फका उम्मेदवार शर्मिला श्रेष्ठ, कांग्रेस नेताहरु आनन्दराम पराजुली, दामोदर खनाल, अर्जुन तिवारी, धिरेन लामा, राजेश बानियाँ, रामकृष्ण कोइराला, लक्ष्मी थिङ, गीता न्यौपाने, कृष्णप्रसाद सापकोटालगायतले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै आर्थिक समुन्नतिका लागि कांग्रेसले जित्नु आवश्यक भएकोमा जोड दिनुभएको थियो ।




