बुटवल, माघ १८ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र नेपाल व्यावसायिक कलाकार सङ्घ, रुपन्देही तथा कालिका मानवज्ञान माध्यमिक विद्यालयको सह–आयोजनामा शनिवारबाट बुटवलको कालिका मानवज्ञान माध्यामिक विद्यालयमा ‘लुम्बिनी प्रादेशिक ललितकला प्रदर्शनी २०८२’ सुरु भएको छ । प्रदर्शनीको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रतिष्ठानका कुलपति हार्तम्छालीले राष्ट्र र समाजको भौतिक विकाससँगसँगै संस्कृति, शान्ति र विकासका लागि ललितकलाको विशेष महत्त्व रहेको बताउँदै राष्ट्रले यसलाई बोध गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालमा कलाको मर्मलाई जराबाटै उठाउनुपर्ने आँैल्याउँदै स्थानीय जनजीवनलाई बोध गराउने उद्देश्यले प्रादेशिक ललितकला प्रदर्शनी गरिएको बताउनुभयो ।
कार्यक्रममा बुटवल उपमहानगर पालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई मुख्य केन्द्र र सम्भावना भएको ऐतिहासिक क्षेत्रका रूपमा जोड दिँदै कलाका माध्यमबाट कलाकारहरूले ती विषयवस्तुलाई समेत प्रस्तुत गर्नुपर्ने बताउनुभयो । उहाँले यस्ता गतिविधिलाई पालिकाले गर्नुपर्ने आवश्यक सहयोग गर्न सदैव तत्पर रहेको धारणा राख्नुभयो ।
प्रतिष्ठानका मूर्तिकला विभाग प्रमुख तथा लुम्बिनी प्रदेश समन्वय समिति संयोजक दिनेश्वर महतोले प्रदेश तथा स्थानीय तहले आफ्नो क्षेत्रको ललितकलाको विकास तथा प्रवर्धनमा अग्रणी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदर्शनीमा लुम्बिनी प्रदेशका कला, संस्कृति, पर्यटनसँगै जनजीवनका विविध पाटो समेटिएका कलाृकृति रहेको जानकारी दिनुभयो ।
यसै गरी कार्यक्रममा प्रतिष्ठानका समसामयिक चित्रकला विभाग प्रमुख संजय बान्तवा, प्राज्ञसभा सदस्य जुपिटर प्रधान, कालिका मानवज्ञान माध्यमिक विद्यालयका सहायक प्राचार्य पीताम्बर बन्जाडे, कलाकार एच.वी रम्तेलले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य नेपाल व्यावसायिक कलाकार सङ्घ रुपन्देहीका अध्यक्ष दिलीप रसाली र सञ्चालन जङ्ग पहाडीले गर्नुभएको थियो ।
प्रदर्शनीमा समसामयिक चित्रकला/मूर्तिकला, शिल्प–हस्तकला, वास्तुकला तथा लोककला, बहुआयामिक तथा अन्य सिर्जनात्म्क कला विधाका ११५ कलाकारका १५० भन्दा बढी कलाकृतिहरू समावेश छन् । नेपाल पर्यटन बोर्ड कला प्रवर्धक रहेको प्रदर्शनी माघ २१ गतेसम्म चल्ने छ ।



