खासकुरा संवाददाता
हेटौँडा, माघ १८ गते । मकवानपुर प्रहरीले हेटौँडाबाट गाँजासहित पिकअप गाडी नियन्त्रणमा लिएको छ ।
हेटौँडा उपमहानगरपालिका २ स्थित लोकप्रिय मोड नजिकबाट गाँजासहित पिकअप गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिका २ भैंसे स्थित चेकपोईन्ट अगाडि सडकमा जाँच गर्ने क्रममा आँपचौरतर्फबाट भैँसेतर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ४२७० नं.को योद्धा पिकअप गाडीलाई रोक्न खोज्दा नरोकी हेटौँडा बजारतर्फ भागेकोमा पिछा गर्दै जाने क्रममा जिल्ला प्रहरी कार्यालय.मकवानपुरबाट खटिएको प्रहरी टोलीलाई देख्नसाथ लोकप्रिय मोड नजिक गाडी रोकी चालक भागी फरार भएका थिए । उक्त पिकअप गाडीलाई खानतलासी गर्दा गाडीको पछाडि ढालाभित्र लुकाई ल्याईएको गाँजा १७२ किलो छ सय ग्राम फेला परेको थियो । गाँजा र पिकअप गाडी बरामद गरी फरार चालकको खोजी कार्य भईरहेको प्रहरीको भनाई छ ।




