रोजगारी र आत्मनिर्भर अर्थतन्त्र निर्माण मेरो प्राथमिकताः कांग्रेस नेतृ डिना

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, फागुन २ गते । नेपाली कांग्रेसका निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले जनतासँग बसेर काम गर्ने सङ्कल्पसहित चुनावमा आएको बताउनुभएको छ ।
प्रतिनिधि सभा निर्वाचन मकवानपुर क्षेत्र नम्बर १ मा कांग्रेसका उम्मेदवारसमेत रहनुभएका उहाँले रोजगारीको अवसर सिर्जना र आत्मनिर्भर अर्थतन्त्र आफ्नो प्राथमिकतामा रहेको र त्यसक्षेत्रमा काम गर्ने बताउँदै सीपसहितको जनशक्ति उत्पादन आवश्यक भएको बताउनुभयो ।
मकवानपुरको बकैया गाउँपालिका र बागमती गाउँपालिकाका तीन वटा वडामा शुक्रबार भएको कांग्रेसको निर्वाचन सम्पर्क कार्यालय स्थापना र अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले युवा तरुण रोजगारीका लागि विदेश जाने क्रम बढेकोले अब देशमा नै बस्ने वातावरण बनाउनु आवश्यक भएको भन्दै विदेशनै जाने र पठाउने हो भने हामीले दक्ष बनाएर पठाउनु पर्नेमा जोड दिनुभयो ।

विदेश नजाने हो भने देशभित्रै रोजगारीको अवसर सिर्जना गर्ने वातावरण बनाउने प्रतिबद्धतासहित कांग्रेस निर्वाचनमा आएको छ कांग्रेस नेतृ डिनाले भन्नुभयो, निर्वाचित भएपछि महिला तरुणलाई लक्षित गरी एक पालिका एक सीप केन्द्र स्थापना गर्ने योजना छ ।
उहाँले भन्नुभयो, रोजगारी र आत्मनिर्भर अर्थतन्त्रका लागि सीपसहितको जनशक्ति उत्पादन आवश्यक छ ।
म अन्यायको विरुद्धमा सडक आन्दोलनमा उत्रिएको महिला हो, नयाँ भन्ने हौवा हो, एक पटक लहर आउँछ र फेरि हराएर जान्छ, जनताको माझमा टिक्न सक्दैनन् । तर जनतासँग सँगै बस्ने पार्टी कांग्रेस हो उहाँको भनाई छ ।
कांग्रेस अहिले बदलिएर र फेरिएर आएको छ, हामी देश अवस्था बदल्छौ, विकास गर्छौ, जनताको जीवनस्तर उकास्छौ भनेर आएको कांग्रेसनै नयाँ पार्टी हो उहाँले स्पष्ट पार्नुभयो ।
विगतको मतको संरक्षण र सुरक्षा गर्दै थप मत कांग्रेसको पक्षमा ल्याउन आग्रह गर्दै नेतृ डिनाले भन्नुभयोे, विशेष गरी महिला दिदीबहिनीहरुले अझ बढी खटिएर निर्वाचित गराउँदा सम्पूर्ण महिलाहरुको पक्षमा काम गर्ने छु ।
उहाँले पछाडि पारिएका आदिवासी जनजाति समुदायको हितको पक्षमा काम नेपालको संविधान लेखिएको हो यो संविधान निर्माणमा मेरो पनि योगदान छ, मेरो पनि हस्ताक्षर छ भन्दै यो संविधान बचाउने र कार्यान्वयन गर्ने बाटोमा आफू लाग्ने प्रतिबद्धता कार्यकर्तासमक्ष गर्नुभयो ।
उहाँले अगाडि भन्नुभयो, जनताको माझमा बसेर विकासको योजना बनाउँछु, मत प्राप्त भएपछि मत मात्र होइन मन पनि जोडेर काम गर्ने छु ।

यस्तै नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवं बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ संविधानले राज्यको तीनै तहमा महिलाको अधिकार सुनिश्चित गरेको भन्दै स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारमा महिलाको अधिकार र प्रतिनिधित्व सुनिश्चित गरिएको बताउनुभयो ।
उहाँले नीति निर्माणमा महिलाको पहुँच वृद्धि भएको र स्थानीय तहमा प्रतिनिधित्वमा महिलाको सहभागिता बढेको भन्दै संघीय लोकतान्त्रिक गणतन्त्रले महिलाको अधिकारलाई सुनिश्चित गरेको बताउनुभयो ।

बागमती गाउँपालिका वडा नम्बर ८ मा वडा सभापति पूर्णबहादुर घलानको अध्यक्षतामा, बागमती गाउँपालिका वडा नम्बर १ मा वडा एकाई सभापति सन्जय राई र बकैया ३ मा वडा सभापति सन्जीव लामाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा जिल्ला निर्वाचन परिचालन समितिका सदस्य रीता खनाल, जिल्ला सचिव भीमसेन महत, जिल्ला सहसचिव ईन्दिरा न्यौपाने, क्षेत्र नम्बर १ का संघीय सभापति दामोदर खनाल, महासमिति सदस्य उर्मिला पुलामी,जिल्ला प्रतिनिधिहरु क्षितिज राना मगर, भक्तबहादुर राई, भूमिनन्द गौतम, बकैया गाउँपालिका समितिका सभापति दिलबहादुर भोम्जनलगायतले बोल्नुभएको थियो ।

ताजा समाचार

Related Articles