हेटौँडामा दुई दिने हस्तकला मेला सुरु

लोकप्रिय

हेटौँडा, असोज ३ गते । संविधान दिवस तथा राष्ट्रिय दिवस २०८० को अवसरमा हेटौँडामा दुई दिने हस्तकला मेला सुरुभएको छ ।
बागमती प्रदेश हस्तकला सङ्घको आयोजना र बागमती प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको प्रवर्धनमा बुधबारदेखि दुई दिने प्रथम हस्तकला मेला २०८० हेटौँडा उपमहानगरपालिका परिसरमा सुरुभएको हो ।
मेलामा धातुकला, काष्ठ कला, चाँदीका गरगहना, नेपालीहाते कागज, छालाका वस्तु, सुकुल तथा मकैका खोस्ताका सामानहरु, प्राकृतिक रेशा र कपडाका समानहरु, धातुको बाधचाल, बासको बाँसुरीलगायतका हस्तकलाका सामग्री मेलामा प्रदर्शनीका लागि राखिएको छ ।
साथै रसुवाको काठको ठेकीदेखि ललितपुरको शेरामिक्सका सामानहरुसमेत प्रदर्शनीमा रहेको छ ।
मेलाको बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा र बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेश सरकारले कृषि र हस्तकला उद्योगलाई प्राथमिकता दिने गरी नीति र कार्यक्रम बनाएको बताउनुभयो । मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारले हस्तकला प्रवर्धनसम्बन्धी ऐन निर्माण गर्न लागेको भन्दै हस्तकलाको माध्यमबाट समृद्ध बागमती प्रदेश निर्माणमा सहयोग पुग्ने बताउनुभयो ।
प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकारले बागमती प्रदेश देशकै विशिष्ट तथा मौलिक कला, संस्कृति तथा परम्परागत हस्तकलाको महत्वपूर्ण थलो भएकोले नेपाली हस्तकलाको प्रवर्धन गर्न मेला आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले २०७२ को संविधानमार्फत नागरिकले अधिकार पाएको बताउँदै अबको हाम्रो योजना र लक्ष्य आर्थिक समृद्धि हुनुपर्ने र यसमा हस्तकलाको विकास र संरक्षण आवश्यक भएको बताउनुभयो ।
मेला आयोजक हस्तकला सङ्घका अध्यक्ष नवीन शाक्यले हस्तकलाको थप प्रवद्र्धन तथा स्तरोन्नति र हस्तकलाका उत्पादित वस्तुहरुको बजार प्रवद्र्धन गर्न उत्पादक, व्यवसायी र उपभोक्तालाई मेलाले जोड्ने काम गर्ने बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका मन्त्रीहरु, पूर्व मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेश सभाका सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।

ताजा समाचार

Related Articles