रोजगारीको सिलसिलामा भारत पसेका मतदाता घर फर्कँदै

लोकप्रिय

बाँके, फागुन १० गते । आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा वैदेशिक रोजगारीका लागि भारत लगायत विभिन्न मुलुक पुगेका नेपाली युवा घर फर्किन थालेका छन्। विगतमा रोजगारीको अभावका कारण बाध्यतावश विदेशिनु परेका उनीहरू यसपटक भने मतदानमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न उत्साहित देखिएका छन्। नेपालमा रोजगारीको अवसर नपाएर बाध्यतावश विदेशिनु परेका युवा यसपटक भने मतदान गर्न घर फर्किरहेका छन्। अछाम घर भई भारतको पुनामा कार्यरत प्रकाश शाही यसपटक शिक्षा स्वास्थ्य र रोजगारीका सवालमा काम गर्न सक्ने उम्मेदवारलाई मत दिने तयारीका साथ घर फर्किनुभएको छ। घरपरिवार धान्न भारत पुगेका धेरै युवाको आफ्नै पीडा छ। साहुको डर, हेपाई र असुरक्षित श्रम वातावरण सहेर पनि परिवारका लागि सङ्घर्ष गरिरहेका उनीहरू विगतका झुटा आश्वासनबाट निराश छन्। चार वर्षदेखि भारतको गुजरातमा कार्यरत जुम्लाका सुरज रावतको पनि युवाका मुद्दा सम्बोधन गर्न सक्ने उम्मेदवारलाई मत दिने सोच छ।

विगतका उम्मेदवारप्रतिको बढ्दो निराशा गैर जिम्मेवारी र अधुरा बाचा यी कारण मतदाताको विश्वास पुराना अनुहारबाट घट्दै गएको देखिन्छ । जुम्लाका टेकबहादुर बुढामगर काम छोडेर भए पनि सन्तानको भविष्य सुरक्षित गर्न सक्षम र इमान्दार उम्मेदवार रोज्न घर फर्किएको बताउनुहुन्छ। निर्वाचन नजिकिँदै गर्दा नेपाल भारत सीमा नाकाहरूमा चहलपहल बढेको छ। करिब दुई सातादेखि जमुना नाकाबाट दैनिक सयौँ मतदाता नेपाल फर्किरहेका छन्।

महिलाहरू पनि रोजगारीको सिलसिलामा भारत पुगेका छन्। बर्दियाकी कालिका पोन आठ वर्षदेखि भारतको गोवामा कार्यरत हुनुहुन्छ देशमै रोजगारी सिर्जना गर्न सक्ने उम्मेदवारलाई मत दिने उहाँको अठोट छ। निर्वाचन नजिकिँदै गर्दा सीमावर्ती बजार र यातायात क्षेत्रमा चहलपहल बढेको छ। घर फर्किनेहरूको भीडले गाउँघरमा चुनावी चर्चा झनै तातेको छ। युवाहरूबिच यसपटक ‘नयाँ सोच, नयाँ नेतृत्व’ भन्ने नारा प्रभावकारी बनेको छ। सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट उम्मेदवारको पृष्ठभूमि, कामको विवरण र प्रतिबद्धता बुझ्ने क्रम पनि बढेको छ।

ताजा समाचार

Related Articles