हेटौँडा, चैत २ गते । हेटौंडामा इनिशा विक हत्या प्रकरणका दोषीलाई कडा कारबाही गर्न माग गर्दै विभिन्न संघसंस्थाले सोमबार हेटौँडामा प्रदर्शन गरेका छन् । गैरसरकारी संस्था महासंघ र दलित महिला संघ (फेडो) मकवानपुरको संयुक्त आयोजनामा भएको प्रदर्शनीमा युवा विद्यार्थी, संघसंस्थाका प्रतिनिधि तथा मानवअधिकारकर्मीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा गैसस महासंघका केन्द्रीय सचिव बुद्धशरण लामा, बागमती प्रदेश अध्यक्ष कमलकुमार विश्वकर्मा, गैसस महासंघ मकवानपुरकी अध्यक्ष रमिला सापकोटा, नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारी, ‘द एनजीओ काउन्सिल’ मकवानपुरका संयोजक सुगम नेगी, माइती नेपाल संयोजक माया लामा, गैरसरकारी संस्था उपाध्यक्ष कुमारी वाइबालगायतको उपस्थिति रहेको थियो ।
प्रदर्शन बुद्धचोकबाट सुरु भई स्कुलरोड, खोपेगल्ली र कान्तिराजपथ हुँदै पुनः बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

सुर्खेतको वीरेन्द्रनगरस्थित सामुदायिक वन क्षेत्रमा इनिशा विक मृत अवस्थामा फेला परेकी थिइन् । पोस्टमार्टम रिपोर्टअनुसार बलात्कारपछि अत्यधिक रक्तस्रावका कारण उनको मृत्यु भएको देखिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




