ललितपुर, चैत १० गते। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिस्पर्धी पार्टीसँग अलमलिएर काँग्रेसले आफ्नो मुद्दा बिर्सिएकाले समस्या आएको बताउनुभएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै उहाँले कांग्रेस नेपालीको स्वतन्त्रता र समानताका निर्माण भएको पार्टी भएकाले जनताको मुद्दा बिर्सन नहुने बताउनुभयो ।

“अबको पाँच वर्ष सफलतापूर्वक सरकार सञ्चालन हुने विश्वास छ, अनेकन अप्ठ्यारोकाबिच मत प्रदान गर्ने सबैमा धन्यवाद व्यक्त गर्दै निर्वाचित हुने सबै उम्मेदवारलाई बधाई ज्ञापन गर्दछु,” सभापति थापाले भन्नुभयो । उहाँले विशेष महाधिवेशन नगरी पार्टी निर्वाचनमा गएको भए काँग्रेसले जनताको प्रतिरोधको सामना गर्न कठिनाइ हुन्थ्यो भन्नुभयो । सभापति थापाले सुशासनका सन्दर्भमा अबको सरकारसँग नागरिकका विशिष्ट अपेक्षा रहेको उल्लेख गर्दै अख्तियारको दुरुपयोग एवं नीतिगत भ्रष्टाचारको विषयमा प्रष्ट छानबिन गरेर जानुपर्छ भन्नेमा जोड दिनुभयो ।

नेपालको लोकतन्त्र र विविधताका विषयमा सन्तुलन कायम राख्नुपर्नेमा जोड दिँदै सभापति थापाले लोकतान्त्रिक व्यवस्थाले दिएका अधिकार कायम राख्न काँग्रेसले प्रतिबद्ध भएर काम गर्नुपर्छ भन्नुभयो । मध्यपूर्वमा भएको तनावले नेपाललाई नदेखिने गरी समस्यामा पारेको भन्दै सभापति थापाले नेपालको अर्थतन्त्र र वैदेशिक रोजगारीमा देखिएका समस्या हल गर्ने विषयमा समाधान गर्दै जानुपर्ने उल्लेख गर्नुभयो ।




