पूर्वमन्त्री खड्कालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

लोकप्रिय

काठमाडौँ, चैत १५ गते । जिल्ला अदालत काठमाडौँले नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्कालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आज बिहान पक्राउ परेका नेता खड्कालाई म्याद थपका लागि अदालत उपस्थित गराइएको थियो । अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार अदालतले सम्पत्ति शुद्धीकरण ‘मनि लाउण्डरिङ’ निवारण ऐन, २०६४ को दफा १७ (४) बमोजिम आजदेखि लागू हुने गरी ७(सात) दिनको म्याद थपको अनुमति प्रदान गरेको हो।

सम्पत्ति शुद्धीकरण कसुरको जाँचबुझ अनुसन्धानका सिलसिलामा पक्राउ परेका खड्काको आज बयान कार्य सुरु भए पनि निजविरुद्ध प्रमाणहरू बुझ्ने तथा बयान गराउनेलगायत अनुसन्धानसम्बन्धी कार्य बाँकी नै रहेकाले सो प्रयोजनको लागि प्रतिवादीलाई हिरासतमा राख्न अनुमति दिएको हो ।

आदेशमा भनिएको छ, “सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुमति माग गरेको र अनुमति माग गरेको बेहोरा मनासिब देखिँदा निज प्रतिवादी दीपक खड्कालाई हिरासतमा राखी उपयुक्त लेखिएबमोजिमका कार्यहरू सम्पन्न गर्ने प्रयोजनका लागि सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन, २०६४ को दफा १७ (४) बमोजिम मिति २०८२।१२।१५ गतेदेखि लागू हुने गरी ७ (सात) दिनको म्याद थपको अनुमति प्रदान गरिदिएको छ ।” नेता खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । विभागले खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी सङ्कलन समेत गरेको थियो ।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

ताजा समाचार

Related Articles