हेटौँडा, चैत २१ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत गत फागुन २१ गते मकवानपुरबाट उम्मेदवार बनाएका दल र सबै उम्मेदवारहरुले निर्वाचन खर्चको विवरण बुझाएका छन् ।
दुई वटा निर्वाचन क्षेत्र भएको यस जिल्लामा निर्वाचन क्षेत्र नम्बर १ मा २३ र क्षेत्र नम्बर २ मा २१ गरी ४४ जना उम्मेदवारले प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेशमा निर्वाचन खर्चको विवरण बुझाएका हुन् ।

प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेशका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले निर्वाचन खर्च बुझाउने समय सीमाभन्दा अगावैनै सबै उम्मेदवारहरुले खर्चको विवरण बुझाएको जानकारी दिनुभयो । निर्वाचन आयोग नेपालले चैत २४ गतेभित्र खर्चको विवरण बुझाउनु पर्ने गरी समय सीमा तोकेको थियो ।
निर्वाचनमा निर्वाचन आयोग नेपालले तोकेको सीमाभन्दा बढी खर्च हुने गरेको र उम्मेदवारहरुले वास्तविक खर्च विवरण नबुझाउने गरेको सार्वजनिक हुँदै आएको छ । यसपटकको निर्वाचनमा पनि उम्मेदवार बनेकोहरुले निर्वाचन कार्यालयमा निर्वाचन आयोगले तोकेको सीमाभित्र बसेर खर्चको विवरण बुझाएका छन् ।
निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन २०८२ मा मकवानपुरका लागि उम्मेदवारले ३३ लाख रुपियाँ खर्च गर्न पाउने हद निर्धारण गरेको थियो ।

तर ३१ लाख रुपियाँभन्दा बढी निर्वाचनमा खर्च भएको विवरण बुझाउने दुई जना उम्मेदवार मात्र छन् । निर्वाचनमा सबैभन्दा बढी खर्च भएको विवरण बुझाउनेमा क्षेत्र नम्बर १ मा उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका महालक्ष्मी उपाध्याय डिना र क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्नुभएका नेकपा एमालेका महेशकुमार बर्तौला हुनुहुन्छ ।
कांग्रेसका उपाध्यायले ३१ लाख ६४ हजार पाँच रुपियाँ र एमालेका बर्तौलाले ३१ लाख ७१ हजार २५१ रुपियाँ खर्च भएको विवरण निर्वाचन कार्यालयमा पेस गर्नुभएको छ ।
दुवै क्षेत्रमा एक लाखभन्दा कम खर्च भएको विवरण बुझाउने २१ जना र ५० हजारभन्दा पनि कम निर्वाचन खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाउने १८ जना रहेको प्रदेश निर्वाचन कार्यालयको अभिलेखमा छ ।




