हेटौँडाको सडकको समस्या छिटो समाधान गर्नुपर्छः मुख्यमन्त्री बानियाँ

लोकप्रिय

हेटौँडा, चैत २१ गते । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हेटौँडाको मुख्य बजार क्षेत्रको सडकलाई अलपत्र पारेको प्रति आपत्ति जनाउनुभएको छ ।
मकवानपुर उद्योग वाणिज्य संघको ५९ औं वार्षिक साधारणसभाको शनिबार उद्घाटनपछि उहाँले हेटौँडाको सडकलाई १६ र २५ मिटर भनेर अन्यौलमा राख्न नहुने बताउनुभएको हो ।
मुख्यमन्त्री बानियाँले राप्तीपुलदेखि रातोमाटेसम्म बाइपास सडक निर्माण गरिए हेटौँडा बजार क्षेत्रमा सडकको केन्द्रबाट दायाँबायाँ १६–१६ मिटर मात्रै गरेर सडक विस्तार गर्दा पर्याप्त हुने भन्दै संघीय सरकारसँग समन्वय गरेर प्रदेश सरकारले यस विषयमा निर्णय गर्न तयार रहेको बताउनुभयो ।
प्रदेश राजधानीलाई लामो समयसम्म अव्यवस्थित रुपमा राख्न हुँदैन उहाँले भन्नुभयो राज्य सञ्चालनको सवालमा सरकार कठोर हुनुपर्ने भएपनि निर्दयी हुनु हुँदैन । हेटौँडाको सडक विस्तारलाई आवश्यक निकास दिन प्रदेश सरकार तयार रहेको उहाँको भनाई छ ।

मुख्यमन्त्री बानियाँले सडक विस्तारबाट प्रभावित व्यवसायीहरुलाई ऋणमा छुटको व्यवस्था गर्न संघीय सरकारलाई आग्रह गर्दै व्यवसायीहरुको हितको लागि संघीय सरकारसँग बागमती प्रदेश सरकार सहकार्य गर्न तयार रहेको बताउनुभयो । सरकारी मिडिया सञ्चार माध्यम बाहेक निजी र सामुदायिक सञ्चारमाध्यममा विज्ञापन गर्न नपाउने संघीय सरकारको निर्णय प्रति आपत्ति जनाउँदै मुख्यमन्त्री बानियाँले प्रदेश र स्थानीय सरकारमा रहेको अधिकारलाई परिपत्र गरेर खोस्न खोज्नु उचित नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो तीन वटै तहको सरकारले गर्ने काम र अधिकार क्षेत्र संविधानमा नै स्पष्ट किटान भएकोले संविधान संशोधन नहुुँदासम्म संविधान अनुरुप नै सरकारले काम गर्नुपर्छ ।

संघका अध्यक्ष प्रमोदसिंह रानाभाटको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्यहरु एकालाल श्रेष्ठ ,भारती पाठक, प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, संघका पूर्व अध्यक्षहरु अरुणराज सुमार्गी, कृष्ण अग्रवाल, भुवनलाल श्रेष्ठ, राजकुमार न्यौपानेलगायतको आतिथ्यता रहेको थियो ।

ताजा समाचार

Related Articles