हेटौँडा, वैशाख १ गते । नेपाल तरुण दल हेटौँडा उपमहानगरपालिका ६ नम्बर वडा समितिले नयाँ वर्ष २०८३ सालको अवसरमा आयोजना गरेको खुला दौड प्रतियोगितामा मकवानपुरको बकैया गाउँपालिका ५ का राजकुमार गोले प्रथम हुनुभएको छ । 

तरुण दल वडा समितिले हेटौँडा उपमहानगरपालिका ६ स्थित चौघडामा मङ्गलबार आयोजना गरेको पाँच किलोमिटर खुला दौड प्रतियोगितामा बकैया ५ क्रै अनिष थिङ दोश्रो र राक्सिराङका सुभाष हेमजङ्ग तेश्रो हुनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश: नगद १५ हजार, १० हजार र पाँच हजार रुपियाँ तथा मेडल र प्रमाणपत्र नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्व लामाले प्रदान गर्नुभएको थियो । यस्तै महिलातर्फको दौडमा हेटौँडा १३ की साधना लोप्चन प्रथम, हेटौँडा १३ कै गङ्गा मोक्तान दोश्रो र हेटौँडा ३ की स्वस्तिका थिङ तेश्रो हुनुभएको थियो ।

तरुण दल मकवानपुरका जिल्ला सदस्य राजकुमार बास्तोलाको अध्यक्षतामा भएको दौड प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा कांग्रेस मकवानपुरका जिल्ला सचिव भीमसेन महत, प्रवक्ता अर्जुनप्रसाद चौलागाई, हेटौँडा उपमहानगर सभापति उत्सव ईटेनी, हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष विष्णुबहादुर दाहाल, ७ नम्बर वडाका वडाध्यक्ष दामोदर गौतम, १६ नम्बर वडाका वडाध्यक्ष रामकृष्ण कोइराला, हेटौँडा ६ का वडा सदस्य विजय पौडेल, रानी सामुदायिक वनका अध्यक्ष केशव धिताल, प्रहरी चौकी चौघडाका ईन्चार्ज बैजु सहनीलगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा चार महिलासहित ३० जनाको दौडमा सहभागिता रहेको थियो । तरुण दल, हेटौँडा ६ वडा समितिले नयाँ वर्षको अवसरमा खुला दौड प्रतियोगिताको आयोजना गर्दै आएको छ ।




