काठमाडौँ, वैशाख २ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । रूपन्देहीको सम्मरीमाई गाउँपालिकामा शीतभण्डार निर्माणका क्रममा अनियमितता गरेको अभियोगमा आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार मुद्दा दायर गरिएकाहरूमा तत्कालीन सचिव अधिकारीसहित वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवाली, कृषि प्रसार अधिकृत मुकेश रामजाली नेपाली, लेखा अधिकृत लक्ष्मण पौडेल र सह–लेखापाल अजय मिश्र रहनुभएको छ ।

त्यसैगरी विभिन्न सहकारी संस्थाका पदाधिकारी तथा व्यवस्थापकहरू क्रमशः अशोक कुमार तिवारी, जयराम गडेरिया, अशोक कुमार त्रिपाठी, दुर्गाप्रसाद कुर्मी, जितेन्द्र यादव, कृष्णकुमार सिंह, फुलमन भर र ओम प्रकाश गुप्ताविरुद्ध पनि मुद्दा दायर गरिएको छ । आयोगले मृतक श्याम सुन्दर यादवकी हकवाला श्रीमती इनरावती यादव र कतबारु गोसाईकी हकवाला श्रीमती राजपति गोसाई तथा मेगा माइण्डस् आर्किटेक्स एण्ड स्ट्रक्चर प्रा. लि. का सञ्चालक सुगम कोइरालाई पनि प्रतिवादी बनाएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा सम्मरीमाई गाउँपालिका वडा नं. ४ सिद्धनाथस्थित शीतभण्डार निर्माण योजनामा प्रचलित कानुन विपरीत सम्झौता गरी कार्य नै पूरा नगरी भुक्तानी लिएको आयोगको अनुसन्धानबाट खुलेको छ । आयोगले उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा ७१ लाख ९७ हजार ९८० रुपियाँ बिगो कायम गरेको छ । उक्त बिगो असुलउपर गरी कैद र जरिवानाको सजाय मागदाबीसहित आरोपपत्र दायर गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।




