हेटौँडा सिमेन्टको उत्पादन पुनः बन्द

लोकप्रिय

हेटौँडा, वैशाख ४ गते । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै बिहीबार बिहानदेखि उत्पादन बन्द गरेको छ । करिब एक महिनाअघि मात्र नियमित सञ्चालन ल्याइएको सो उद्योगको उत्पादन फेरि बन्द भएको हो । उद्योगले तीन हजार मेट्रिक टन कोइला किन्न बोलपत्र आह्वान गरिसकेको छ । करिब दुई हप्ताभित्र कोइला आइपुग्ने हेटौँडा सिमेन्ट उद्योगका सहायक प्रबन्धक विकास श्रेष्ठले बताउनुभयो । कोइलाको परीक्षण नतिजा अनुसार मात्र सिमेन्टको उत्पादनको समय निर्धारण हुने उहाँले जानकारी दिनुभयो ।

यसअघि आर्थिक सङ्कटका कारण धराशायी बनेको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगलाई नियमित र पूर्ण क्षमतामा सञ्चालन गर्न सरोकारवालाले माग राख्दै आएका छन् । सङ्घीय सांसद प्रकाश गौतमले उद्योगको समस्या समाधानका लागि केन्द्र सरकार र बागमती प्रदेश सरकारसँग पहल सुरु गर्नुभएको छ । उहाँले आफू सांसदमा निर्वाचित भएपछि प्रधानमन्त्री, उद्योगमन्त्री र बागमती प्रदेशका मुख्यमन्त्रीसँग उद्योगको अवस्थाबारे छलफल गरेको जानकारी दिनुभयो । प्रदेश सांसदले उद्योग नियमित सञ्चालनको विषय उठाउँदै आउनुभएको छ ।

निमित्त महाप्रबन्धक डा. शिवनारायण साहका अनुसार गत चैत १३ गतेदेखि क्लिङ्कर उत्पादन पुनः सुरु गरिए पनि कच्चा पदार्थ (कोइला) को अभावमा उद्योग पुनः बन्द हुने अवस्थामा पुगेको छ । यहाँ पुरानो बक्यौता रकम तिर्न नसक्दा कोइला आपूर्ति हुन सकेको छैन । उद्योग बन्द भए पनि कर्मचारीको तलब, भत्ता र सामान्य मर्मत खर्च जस्ता अनिवार्य दायित्वले आर्थिक भार थपिरहेको छ । हाल उद्योगमा ३१८ जना जनशक्ति कार्यरत छन् । यसबाहेक नेपाल विद्युत् प्राधिकरणलाई बुझाउनुपर्ने महसुल बक्यौता नै करिब ३० देखि ४० करोड रुपियाँ पुगिसकेको छ ।

ताजा समाचार

Related Articles