तलब सूविधासहित व्यक्तिगत खर्चमा स्ल्याब ढलान

लोकप्रिय

हेटौँडा, वैशाख १० गते । मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले करिब २० लाख रुपियाँ लगानी गरी सडक ढलान गरिदिनुएको छ। मनहरी गाउँपालिका–२ स्थित कर्मचोकदेखि वडा कार्यालयसम्म पुग्ने छ मिटर चौडाईको करिब दुई सय मिटर सडक ढलान सम्पन्न गरी बिहीबार स्थानीय ज्येष्ठ नागरिक कुलबहादुर स्याङ्तानले सडक उद्घाटन गर्नुभएको हो ।

जेनजी आन्दोलनपछि गाउँपालिकामा देखिएको भौतिक क्षति र बजेट कटौतीका कारण विकास आयोजना प्रभावित भएपछि स्थानीयको आवश्यकता र मागलाई ध्यानमा राखी व्यक्तिगत लगानीमै सडक बनाउने निर्णय गरिएको अध्यक्ष कालाखेतीले जानकारी दिनुभयो । ‘धुलो र प्रदूषणका कारण टोलवासीलाई धेरै समस्या थियो । गाउँपालिकाबाट राखिएका योजनाहरु पनि कटौती गर्नुपर्ने बाध्यता परेपछि यो ठाउँमा तत्काल सडक ढलान आवश्यक देखेर आफ्नै लगानीमा काम गरेको हुँ,’ अध्यक्ष कालाखेतीले भन्नुभयो । उहाँले जनप्रतिनिधि बनेदेखि सरकारी सवारी सेवा नलिएको र प्राप्त तलबभत्ता समेत जनतामै खर्च गर्दै आउनुभएको छ ।

मनहरी गाउँपालिका २ नम्बर वडाका वडाध्यक्ष राजकुमार पाख्रिनले गाउँपालिका अध्यक्षले व्यक्तिगत लगानीमा सडक स्ल्याब ढलान गरेकोमा खुसी व्यक्त गर्नुभयो । २ नम्बर वडालाई राष्ट्रिय राजमार्गसम्मको पहुँच विस्तारका लागि सडक स्तरीकरण तथा पुल निर्माणमा पनि पहल कदमी गर्न पाख्रिनले अध्यक्ष कालाखेतीलाई आग्रह गर्नुभयो ।
कालाखेतीले आफ्नो तलबभत्ताबाट मनहरी–५ मा विपन्न एक परिवारको घर निर्माण गरिदिनुएको छ । मनहरी–६ मा अर्को घर निर्माण कार्य भइरहेको छ । यस्तै, विपन्न बालबालिकाको लागि छात्रवृत्ति तथा पोसाकमा उनले तलबभत्ताबापत प्राप्त हुने रकम खर्च गर्दै आउनुभएको छ ।

ताजा समाचार

Related Articles