हेटौँडा, वैशाख २१ गते । नेपाली कांग्रेस मकवानपुरले बागमती प्रदेशका सभापति एवं मुख्यमन्त्री इन्द्रबहादुर बानियाँमाथि राजनीतिक पूर्वाग्रहका आधारमा गरिएको व्यवहारप्रति गम्भीर आपत्ति जनाएको छ ।
कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाद्वारा जारी प्रेस विज्ञप्तिमा राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धानको नाममा अस्वाभाविक तरिकाले कदम चालेको आरोप लगाउनुभएको छ।

विज्ञप्तिमा सामान्य सूचना र संवैधानिक प्रक्रियाको अवलम्बन नगरी गरिएको यस्तो कार्यले लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार गरेको उल्लेख गरिएको छ। कांग्रेस मकवानपुरले यस घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निष्पक्षता र पारदर्शिताको सिद्धान्त विपरीत गरिएको कुनै पनि गतिविधि स्वीकार्य नहुने जनाएको छ।
कांग्रेस मकवानपुरले राजनीतिक जीवनमा लामो समयदेखि सुशासन, पारदर्शिता र भ्रष्टाचारमुक्त समाज निर्माणमा प्रतिबद्ध व्यक्तित्वमाथि गरिएको व्यवहारप्रति आपत्ति जनाउँदै अनुसन्धानका नाममा गरिने कुनै पनि कार्य कानुनी प्रक्रिया र मानवीय मर्यादाभित्र रहनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा राज्यका निकायहरूद्वारा गरिने अनुसन्धानमा पूर्ण सहयोग रहने उल्लेख गर्दै लोकतन्त्र, मानवअधिकार र विधिको शासनको सम्मान हुनुपर्नेमा जोड दिइएको छ। साथै, यस्ता घटनाले संघीय सरकारको नियतमाथि प्रश्न उठेको भन्दै सरकारको नियत लोकतन्त्र र मानअपधकारप्रति संवेदनशील नरहेको कांग्रेस मकवानपुरले ठहर गरेको छ ।




