कृषिलाई उत्पादनमुखी र व्यावसायिक बनाइने

लोकप्रिय

हेटौँडा, असार ९ गते । हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा कृषिलाई उत्पादनमुखी र व्यावसायिक बनाउने उद्देश्यसहित विभिन्न कार्यक्रम सञ्चालन गर्न कृषि प्रवर्धनका कार्यक्रमहरु सञ्चालन गर्नेभएको छ ।
१९ औँ नगर सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख मीनाकुमारी लामाले कृषिलाई उत्पादनमुखी र व्यावसायिक बनाउने उद्देश्यसहित विभिन्न कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो। उपमहानगरपालिकाले आगामी आवमा दुई बिघा क्षेत्रफलमा ड्रागन फल र मेवा खेती विस्तारका लागि लगानी गर्ने भएको छ। नीति तथा कार्यक्रम अनुसार किसान सुचीकरणमार्फत सम्पूर्ण कृषकको तथ्याङ्क सङ्कलन गरी कृषकको वर्गीकरण तथा परिचयपत्र वितरण गरिने छ। युवालाई कृषि पेसामा आकर्षित गर्न युवा लक्षित कृषि कार्यक्रम सञ्चालन गरिने तथा नमुना क्षेत्र निर्धारण गरी विषादीरहित उत्पादन र जैविक खेतीलाई प्रोत्साहन गरिने भएको छ। फलफूल उत्पादन विस्तारका लागि कृषक समूह र कृषि सहकारीमार्फत अम्बा, मेवा, लिची, केरा, ड्रागन फल र एभोकाडो खेती प्रवर्धन गरिने छ। उत्पादित कृषि उपजको बजारीकरणका लागि ‘बारीदेखि बजारसम्म’ नीति अवलम्बन गरिने उल्लेख गरिएको छ।

उपमहानगरपालिकाले रासायनिक मलको विकल्पका रूपमा हरियो मल, गँड्यौला मल तथा जैविक मलको प्रयोगलाई प्रोत्साहन गर्ने भएको छ। साथै उत्पादित कृषि उपजको व्यवस्थित बजारीकरणका लागि निर्माण गरिएको प्रादेशिक कृषि थोक बजार पूर्ण रूपमा सञ्चालनमा ल्याइने छ। रैथाने बिउ संरक्षण तथा संवर्धनका लागि ‘दिदीबहिनी बिउ बैँक’ कार्यक्रम सञ्चालन गरिने तथा माटो परीक्षणका आधारमा कृषि चुन वितरणलाई थप प्रभावकारी बनाउने नीति लिइएको छ। त्यसैगरी सीमान्तकृत किसानलाई खेती प्रणालीमा सहजीकरण गर्न हलुँगो हलो (हल गोरु) पालन प्रोत्साहन, विपन्न परिवारलाई पशुपालन कार्यक्रममार्फत सहयोग तथा स्थानीय जातका गाई, बाख्रा, कुखुरा, हाँस, कालिज र बट्टाई पालनलाई प्रोत्साहन गरिने भएको छ। सामुदायिक तथा छाडा पशुचौपाया व्यवस्थापनका लागि पशुचौपाया आश्रम (कान्जी हाउस) स्थापना गर्न सहकार्य गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। पर्यटन क्षेत्रको विकासका लागि ‘जाऔँ हेटौँडा, रमाऔँ हेटौँडा’ अभियानसहित पर्यटन वर्ष २०८३ घोषणा गरी कार्यान्वयनमा ल्याइने भएको छ। ‘एक वडा, एक पर्यटकीय गन्तव्य’ अवधारणा अनुसार धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाको पहिचान र प्रवर्धन गरिने छ।

उपमहानगरपालिकाले स्वास्थ्य, शिक्षा, बालअधिकार र सूचना प्रविधिसम्बन्धी कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ। ‘मेयरसँग जनता स्वास्थ्य कार्यक्रम’, नगर ई–लाइब्रेरी स्थापना, ‘नगर प्रमुखसँग विद्यार्थी कार्यक्रम’, ‘मैला मैत्री हेटौँडा’, ‘नगर प्रमुख/उपप्रमुखसँग बालबालिका संवाद’, ‘आमाको सपना, छोरीको उडान’ तथा ‘डिजिटल दिदी मोबाइल बैङ्किङ कक्षा’ कार्यक्रम सञ्चालन गरिने भएको छ। नगर प्रमुख लामाले कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा र पूर्वाधार विकासलाई समेटेर समृद्ध तथा आत्मनिर्भर हेटौँडा निर्माण गर्ने लक्ष्यसहित नीति तथा कार्यक्रम ल्याइएको बताउनुभयो। उहाँले कृषिलाई आधुनिक, व्यावसायिक र उत्पादनमुखी बनाउँदै युवालाई रोजगारी तथा आयआर्जजनसँग जोड्ने उद्देश्य रहेको उल्लेख गर्नुभयो। साथै नगर क्षेत्रभित्र सञ्चालित तीन पाङ्ग्रे सवारी साधनलाई विद्युतीय सवारीमा रूपान्तरण गर्न प्रोत्साहन गरिने तथा सःशुल्क पार्किङ व्यवस्थालाई पनि कार्यान्वयनमा ल्याइने जानकारी दिनुभयो।

ताजा समाचार

Related Articles