हेटौँडा, वैशाख २१ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले काठमाडौँका विभिन्न स्थानबाट हटाइएका भूमिहीन सुकुम्वासी जनतालाई आवासको तत्काल वैकल्पिक व्यवस्था मिलाउन जोडदार माग गर्नुभएको छ ।
नेता थपलियाले एक विज्ञप्ति जारी गर्दै भूमिहीन सुकुम्वासी जनतालाई बसोबास गर्दै आएको स्थानबाट हटाउँदा पर्याप्त समय दिएर मात्र हटाउनुपर्ने बताउनुभएको छ ।

वर्तमान वालेन्द्र साह सरकारले हालका दिनहरूमा सुकुम्बासी बस्तीहरूमा पर्याप्त पूर्व सूचना बिना नै डोजर आतङ्क चलाएर उनीहरूका घर भत्काउने र खान र बस्न उचित व्यवस्थापन नगरेको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उहाँले बालबालिका, सुत्केरी महिला, बृद्धबृद्धा, रोगी तथा अशक्त व्यक्तिहरूको उपचार गर्न माग गर्नुभएको छ ।
सरकारले केवल एक वा दुई दिनको मात्र र कतै कतै एक घण्टा अघि मात्र सूचना दिएर भूमिहीन सुकुम्बासीको घर बस्तीमा डोजर चलाइएको छ, जवरजस्ती आवासबिहीन बनाएको छ विज्ञप्तिमा भनिएको सुकुम्वासीको व्यवस्थापन गर्न भनी तोकिएका दशरथ रङ्गशालालगायतको स्थानहरूमा खान र बस्न समेतको पर्याप्त प्रबन्ध नगरी अमानवीय व्यवहार देखाईएको छ ।

दशरथ रङ्गशालालगायतको स्थानहरूमा बसिरहेका बालबालिका, वृद्धवृद्धा, सुत्केरी महिलाहरु रोगले थप आहत बन्न पुगेका छन् भन्दै विज्ञप्तिमा जसको फलस्वरूप आफ्नो परिवार माथि परेको पीडा सहन नसकी दुई व्यक्तिहरूले आत्महत्यासमेत गरिसकेको उल्लेख गरिएको छ ।
यी सबै घटनाहरूले आफ्ना जनताप्रति राज्यको गैर जीम्मेवारीपन र पाशविक व्यवहार प्रस्तुत गरिरहेको प्रष्ट हुन्छ विज्ञप्तिमा भनिएको छ ।
एमाले बागमती प्रदेश संसदीय दल वालेन्द्र साह नेतृत्वको सरकारले पञ्चायतकालीन निरङ्कुशतासमेत बिर्साउने गरी व्यवहार देखाएको आरोप लगाउँदै नेता थपलियाले उक्त कार्यको निन्दा र भर्त्सना गर्नुभएको छ ।




