हेटौँडा, वैशाख २३ गते । मकवानपुरको बागमती गाउँपालिकामा जारी बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा सर्लाहीको बागमती युथ क्लब प्रवेश गरेको छ ।
बागमती गाउँपालिका ४ स्थित सहिद स्मृति रङ्गशालामा बागमती गोल्डकपको आठौं संस्करण अन्तर्गत बुधबार भएको पहिलो सेमिफाइनल खेलमा ललितपुरको फ्रेन्ड्स क्लबलाई टाइब्रेकरमा ५–४ गोलले हराउँदै बागमती युथ फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित खेल समय १–१ गोलको बराबरीपछि खेलको निर्णय टाइब्रेकरबाट भएको थियो ।

फ्रेन्ड्सका कप्तान रुपेश केसीले पहिलो हाफको ११ औँ मिनेटमा र बागमतीका लागि आयुष मगरले ८५ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्नुभएको थियो । टाइब्रेकरमा बागमतीका लागि अनिष महर्जन, भुपल मगर, आयुष मगर, अमन लामा र युवराज ढकाल तथा फ्रेन्ड्सका सुजन चौधरी, राजेश दाहाल, विवेक मगर र रुपेश केसीले गोल गर्नुभएको थियो । फ्रेन्ड्सका प्रशान्त लक्षमको प्रहार बाहिरिएको थियो । प्लेयर अफ दि म्याच बागमतीका आयुष मगर घोषित हुँदै १० हजार रुपियाँ पुरस्कार प्राप्त गर्नुभयो ।

बागमती युथले अब फाइनलमा उपाधिका लागि चित्लाङ एफसी र नव जनजागृतीको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेल बिहीवार हुनेछ । फाइनल खेल वैशाख २६ गते हुनेछ । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपियाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख एक हजार र विधागत उत्कृष्टहरुले २५–२५ हजार रुपियाँ प्राप्त गर्नेछन् ।




