मनहरी गाउँपालिका अध्यक्ष कालाखेती सम्मानित

लोकप्रिय

खासकुरा संवाददाता
हेटौँडा, वैशाख २३ गते । मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती सम्मानित हुनुभएको छ । मनहरीक्षेत्रका दुग्ध किसानको हकहितका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै अध्यक्ष कालाखेतीलाई बुधबार मनहरी गाउँपालिका १ स्थित क्षितिज दुग्ध उत्पादक सहकारी संस्थाले सम्मान गरेको हो ।
क्षितिजले आयोजना गरेको पशुपालन तथा दुग्ध उत्पादन तालिम उद्घाटन कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष शिवप्रसाद खनाल, संस्थाका अध्यक्ष राममणि न्यौपानेलगायतको उपस्थितिमा भएको कार्यक्रममा मिठुदेवी मुक्तान, मिठुकुमारी मुक्तान र लक्ष्मी उप्रेतीले कालाखेतीलाई सम्मानपत्रसहित सम्मान गर्नुभएको थियो ।

पालिका अध्यक्ष कालाखेतीले दुग्ध किसानको हकहित र संरक्षणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको, समयमै दूधको भुक्तानी सुनिश्चित गरी किसानमा भरोसा जगाएको र उत्पादनशीलता वृद्धिका लागि अतुलनीय योगदान पु¥याएको कदरपत्रमा उल्लेख छ । अध्यक्ष कालाखेतीले देखाएको दूरदर्शी नेतृत्वका कारण आफूहरू उत्साहित भएको सहकारीका अध्यक्ष राममणि न्यौपानेले बताउनुभयो । विशेषगरी दूधको भुक्तानी समयमै हुने व्यवस्था मिलाइएपछि किसानहरूको आर्थिक अवस्था सुधार हुँदै गएको उहाँको भनाइ थियो ।
सम्मानपछि बोल्दै अध्यक्ष कालाखेतीले किसानको विश्वास नै आफ्नो काम गर्ने ऊर्जा भएको उल्लेख गर्दै दुग्ध क्षेत्रको विकासलाई अझ प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले किसानमैत्री नीति तथा कार्यक्रमलाई निरन्तरता दिँदै उत्पादन वृद्धि र बजारीकरणमा थप सहजीकरण गरिने बताउनुभयो ।

हरेक एक महिनाभित्र किसानले उत्पादन गरेका दूधको पैसा भुक्तानी सुनिश्चित गरिएपछि दुध उत्पादनमा वृद्धि भएको उहाँले सुनाउनुभयो । गाउँपालिकामा पहिला प्रतिदिन पाँच हजार पाँच लिटर दूध सङ्कलन हुने गरेकोमा अहिले बढेर १४,००० लिटर प्रति दिन पुगेको र यो अझै बढ्दो क्रममा रहेको उहाँले जानकारी दिनुभयो । दूधको भुक्तानी समयमै पाउन थालेपछि पशुपालन र दुग्ध उत्पादनमा उत्साह र ऊर्जा थपिएको किसानले बताएका छन् । पछिल्लो समय गाउँपालिकाले सहकारीमार्फत दुग्ध किसानलाई मासिक रुपमा दुई करोड ८० लाख रुपियाँसम्म भुक्तानी भइरहेको अध्यक्ष कालाखेतीले बताए ।
दुई दिनसम्म सञ्चालन हुने तालिममा पशु सेवा कार्यालय मकवानपुरका प्रमुख रामप्रकाश प्रधानले किसानहरुलाई पशु पालनको उपाय र दूध उत्पादन बढाउने तरिकाबारे तालिम दिनु हुनेछ । कार्यक्रममा मनहरी १ का वडाध्यक्ष शिवप्रसाद खनालले आफूहरुले स्थानीयको विकासमा लागेको बताउनुभयो ।

ताजा समाचार

Related Articles