हेटौँडा, वैशाख २४ गते । चुच्चोमा प्लाष्टिक टाँसिएर खानाको अभावमा बेहोस भएर लडेको अवस्थामा कालो जुनबकुल्ला (Black Bittern – Dupetor flavicollis) लाई उद्धार गरी प्लाष्टिक निकालेर पुनः पोखरी छेउमा छोडिएको छ ।मधेशको गाऊँहरुमा प्रशस्तै मात्रामा रहेका निजी तथा सार्वजनिक माछा पोखरीहरुले विभिन्न प्रजातीका पानी चराहरुलाई आकर्षण गर्दछ । जसमध्ये फरक फरक प्रजातीका बकुल्लाहरु साधारणतया हामी सबै जनाले देख्ने गरेका हुन्छौ । यसको मुख्य आहारा साना माछा, माछाका भुरा, भ्यागुता र भ्यागुताका बच्चा, झिंगा, पानीमा बस्ने किरा–फट्यांग्रा, जलीय कीराका लार्भा र कहिलेकाहीँ साना सर्पहरु हुन् । यो प्रायः पोखरी, खोला, धानखेत र सिमसार क्षेत्रको किनारमा लुकेर बिस्तारै शिकार गर्छ । कमजोर, बिरामी वा सजिलै समात्न सकिने माछा यसको मुख्य आहारा हुन्छन् । बकुल्लाको उपस्थिति भएको सिमसार क्षेत्र प्राकृतिक रुपमा माछाको लागि उपयुक्त मानिन्छ । साथै यसले समात्न खोज्दा आफूलाई जोगाउन भाग्ने कारणले माछालाई सक्रिय राख्छ जसले माछा फस्टाउन मद्दत गर्दछ । झट्ट हेर्दा बकुल्लाले पोखरीबाट माछा खायो भनेर हामीले देख्ने गर्छौ तर यसले अप्रत्यक्ष रुपमा माछा किसानलाई सहयोग पुर्याइरहेका हुन्छन् ।
पछिल्लो समय सिमसार क्षेत्रमा र वरिपरी फालिएको प्लाष्टिक हावाहुरीले सिमसार क्षेत्रमा पुर्याउनाले यस्ता चराहरु खतरामा पर्न थालेका छन् । चराको चुच्चोमा बेरिनुका साथै कहिले काहीँ पानीमा भएको प्लाष्टिकमा लुक्न खोजेको माछालाई समात्ने क्रममा माछासँगै प्लाष्टिक पनि चराको घाँटीमा अड्केर चराहरु मर्ने गरेका छन् ।
यस्ता चराहरुलाई देख्ने बित्तिक्कै हामीले प्लाष्टिक हटाउने प्रयास गर्नु पर्छ ।
कालो जुनबकुल्ला थोरै मात्रामा पाईन्छन् । फेविकोल जस्तो टाँसिएको प्लाष्टिक चराको चुच्चोबाट हटाएर केही समयको लागि पोखरीको छेऊमा राख्दा चरा बिस्तारै सक्रिय भयो । आफैले माछा समात्न शुरु गरेर केही समयपछि सो चरा उड्न थाल्यो । चरा उद्धार गरी प्लाष्टिक झिक्ने र फेरी प्राकृतिक वासस्थानमा छोड्ने काम सुवोध आचार्य, गौतम राज मण्डल र देव नारायण मण्डलले गर्नुभएको थियो ।
प्रकृतिमा मनुष्यको अस्तित्व जोगाउन चराको उपस्थिति अति नै आवश्यक भएकोले यसको संरक्षण गर्नु मानवको अस्तित्व संरक्षण गर्नु सरह नै हो । साभारः मिथिला वाइडलाइभ ट्रष्ट ।



