हेटौँडा, चैत २५ गते । मकवानपुरको मनहरी गाउँपालिकाबाट राहदानी र राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका कर्मचारीसहित जनप्रतिनिधिहरुको उपस्थितिमा शुक्रबार गाउँपालिका कार्यालय लामिटार ब्लकबाट राहदानी र राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीलगायतको उपस्थितिमा १४ जनालाई राष्ट्रिय परिचयपत्र र २८ जनालाई राहदानी वितरण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा २०८० असोज मसान्तसम्म राष्ट्रिय परिचयपत्रको आवेदन दिएका करिब सात हजार जना र हालसम्म राहदानीका लागि आवेदन दिएका ८८ जनाको प्रमाणपत्रसहित प्रशासनको टोली मनहरी पुगेको होे ।
राष्ट्रिय परिचयपत्र र राहदानी लिन जिल्ला प्रशासन कार्यालय धाउनुपर्ने बाध्यतालाई अन्त्य गर्न गाउँमै पुगी वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गाउँबाटै राष्ट्रिय परिचयपत्र र राहदानी वितरण गरिनेबारेको सूचना वडा कार्यालयमार्फत गरिएको थियो ।




