मकवानपुरका चार पालिकाको बजेट तीन अर्ब १६ करोड ६७ लाख

लोकप्रिय

मकवानपुर, असार १० गते। मकवानपुरका चारवटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सामाजिक विकाससँगै पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याएका छन्। बकैया, मनहरी, कैलाश र मकवानपुरगढी गाउँपालिकाले बुधबार बसेको आ–आफ्नो गाउँसभामा आगामी वर्षको अनुमानित आयव्ययसहितको बजेट प्रस्तुत गरेका हुन्। चारवटा गाउँपालिकाको गरी आगामी आर्थिक वर्षका लागि कुल तीन अर्ब १६ करोड ६७ लाख ९९ हजार १२० रुपियाँ बराबरको बजेट रहेको छ।

कैलाश गाउँपालिका: ५५ करोड ८४ लाख

कैलाश गाउँपालिकाको बुधबार बसेको १८ औँ गाउँसभामा उपाध्यक्ष बालकुमार मल्लले ५५ करोड ८४ लाख ६९ हजार रुपियाँ बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभयो। आगामी आर्थिक वर्षको बजेट खर्च बेहोर्ने स्रोतमा सङ्घीय सरकारको वित्तीय समानीकरण अनुदान, ससर्त, समपूरक र विशेष अनुदान तथा राजस्व बाँडफाँटबाट ४२ करोड ७६ लाख ९१ हजार रुपियाँ प्राप्त हुने अनुमान छ। यस्तै प्रदेश सरकारको विभिन्न अनुदान र राजस्व बाँडफाँटबाट नौ करोड ४७ लाख २१ हजार ९१० रुपियाँ र गाउँपालिकाको विभिन्न शीर्षकबाट तीन करोड ६० लाख ५६ हजार ९० रुपियाँ प्राप्त हुनेछ। विनियोजित बजेटमध्ये पूर्वाधारतर्फ १५ करोड ७० लाख, सामाजिक विकासतर्फ २४ करोड, आर्थिक विकासतर्फ दुई करोड २१ लाख, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ७५ लाख ५४ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ ४३ लाख र प्रशासनिक खर्चका लागि ११ करोड ८६ लाख रुपियाँ विनियोजन गरिएको छ। यसअघि गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो।

बकैया गाउँपालिका: ८९ करोड ५० लाख

 

बकैया गाउँपालिकाको १२ औँ गाउँसभामा उपाध्यक्ष भक्तबहादुर खत्रीले आगामी वर्षका लागि ८९ करोड ५० लाख ४४ हजार रुपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभयो। विनियोजित कुल बजेटमध्ये चालुतर्फ ६३ करोड ९३ लाख १९ हजार रुपियाँ (७१.४३ प्रतिशत) र पुँजीगततर्फ २५ करोड ५७ लाख २५ हजार रुपियाँ (२८.५७ प्रतिशत) रहेको छ। बजेटको स्रोतमा सङ्घीय सरकारबाट ४१ करोड ७३ लाख रुपियाँ र बागमती प्रदेश सरकारको विभिन्न अनुदानहरूबाट १३ करोड ५२ लाख ८८ हजार ५१५ रुपियाँ प्राप्त हुने अनुमान छ। आन्तरिक स्रोततर्फ चार करोड ६७ लाख ७५ हजार ८८५ रुपियाँ र स्थानीय राजस्व बाँडफाँटतर्फ पाँच करोड ५० लाख रुपियाँ उल्लेख छ। गाउँसभामा गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेले समृद्ध बकैया निर्माणको मूल आधार स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र वातावरणमैत्री पूर्वाधार विकास रहेको बताउनुभयो।

मनहरी गाउँपालिका: ९८ करोड ५७ लाख

मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ९८ करोड ५७ लाख ६३ हजार रुपियाँ बराबरको बजेट ल्याएको छ। गाउँपालिकाको बुधबार बसेको १९ औँ अधिवेशनको दोस्रो बैठकमा उपाध्यक्ष सीता पुलामीमगरले उक्त बजेट प्रस्तुत गर्नुभएको हो। विनियोजित बजेटमध्ये ३६.७८ प्रतिशत अर्थात् ३६ करोड २५ लाख रुपियाँ पुँजीगत र ६३.2२ प्रतिशत अर्थात् ६२ करोड ३१ लाख रुपियाँ चालु खर्चतर्फ रहेको छ। गाउँपालिकाले आगामी वर्ष दहत्तर–बहत्तर (नदीजन्य पदार्थ) बिक्रीबाट २६ करोड ७४ लाख ८२ हजार रुपियाँ आम्दानी हुने अनुमान गरेको छ। सङ्घीय सरकारबाट ३६ करोड ८१ लाख र प्रदेश सरकारबाट छ करोड २६ लाख ४१ हजार रुपियाँ प्राप्त हुने अनुमान छ भने आन्तरिक स्रोत र बैङ्क मौज्दातबाट चार करोड १५ लाख ७० हजार रुपियाँ व्यवस्थापन गरिने उपप्रमुख पुलामीले बताउनुभयो। गाउँसभामा अध्यक्ष रञ्जन कालाखेतीले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भइसकेको छ।

मकवानपुरगढी गाउँपालिका: ७२ करोड ७५ लाख

मकवानपुरगढी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ७२ करोड ७५ लाख २३ हजार १२० रुपियाँ बराबरको बजेट ल्याएको छ। गाउँपालिकाको १४ औँ गाउँसभाको प्रथम बैठकमा उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीद्वारा प्रस्तुत बजेटमध्ये ४३ करोड ९० लाख २३ हजार रुपियाँ (६०.३५ प्रतिशत) चालु खर्च र २८ करोड ८५ लाख रुपियाँ (3९.६५ प्रतिशत) पुँजीगत खर्चतर्फ विनियोजन गरिएको छ। बजेटको स्रोतमा सङ्घीय सरकारबाट ३५ करोड ४५ लाख, प्रदेश सरकारबाट पाँच करोड ४५ लाख ३४ हजार र राजस्व बाँडफाँटबाट २२ करोड १९ लाख ९४ हजार १२० रुपियाँ प्राप्त हुनेछ। आन्तरिक आय र गत वर्षको मौज्दातबाट आठ करोड ८३ लाख ९५ हजार रुपियाँ प्राप्त हुने अनुमान छ।

जिल्लाको हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, इन्द्रासरोवर गाउँपालिका, बागमती गाउँपालिका र भीमफेदी गाउँपालिकाले यसअघि नै बजेट ल्याइसकेका छन्। जिल्लाका १० स्थानीय तहमध्ये अब राक्सिराङ गाउँपालिकाले मात्र नीति, कार्यक्रम र बजेट ल्याउन बाँकी रहेको छ।

ताजा समाचार

Related Articles