कैलाश गाउँपालिकाद्वारा १० जना चेली सम्मानित

लोकप्रिय

हेटौँडा, असार १० गते । मकवानपुरको कैलाश गाउँपालिकाले १० जना चेलीलाई सम्मान गरेको छ ।
गाउँपालिकाको कालिकाटारमा बुधबार बसेको १८ औं गाउँसभामा १० जना चेलीलाई नगदसहित सम्मानित गरिएको हो ।
गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले चेलीहरुलाई सम्मान गर्दै कक्षा १२ उत्र्तीण गरी २० वर्ष पुरा गरेपछि मात्र विवाह गर्ने चेलीहरुलाई गाउँसभामा सम्मान गर्दै आएको बताउनुभयो ।
उहाँले गाउँपालिकाले नीति तथा कार्यक्रममै राखेर प्रोत्साहन स्वरुप हरेक वर्ष सम्मान गर्ने गरिएको बताउनुभयो । उहाँले जनही २० हजार रुपियाँसहित सम्मान गर्नुभएको थियो ।

सम्मानित हुनेमा वडा नं.२ की मुना चेपाङ, वडा ४ की शान्तिमाया मुक्तान, वडा नं. ६ की सावित्री अधिकारी, वडा नं. ९ की सङ्गीता गलान, आरती उप्रेती, सविना बर्तौला र अनिषा थापा, वडा नं. १० की फूलमाया गोले, सुनिता स्याङ्तान र विनिता स्याङ्तान रहनुभएको छ ।
गाउँपालिकाले बालविवाहका कारण किशोरीहरूको शिक्षा, स्वास्थ्य तथा भविष्यमा नकारात्मक असर पर्ने भएकाले न्यूनीकरणका लागि समुदायस्तरमा जनचेतना अभिवृद्धिमा सहयोग पुग्ने उद्देश्यसहित नीति तथा कार्यक्रममा समेट्दै चेलीहरुलाई सम्मान गर्दै आएको छ ।
अध्यक्ष मुक्तानले वीपी स्मृती कैलाश आधारभूत अस्पतालमा चिकित्सक तथा आवश्यक जनशक्ति, उपकरण र औषधिको व्यवस्थापन गरी आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्ने योजना रहेको सुनाउँदै कैलाश बन्दैछ, बाआमालाई सञ्चै छ अभियान सञ्चालनलाई निरन्तरता दिइने बताउनुभयो ।

ताजा समाचार

Related Articles