जेनजी प्रदर्शनमा घाइतेलाई मासिक उपचार खर्च

लोकप्रिय

काठमाडौँ, जेठ ५ गते । सरकारले जेनजी प्रदर्शनका क्रममा भएका घाइतेको वर्गीकरण गरी मासिक उपचार खर्च उपलब्ध गराएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेनजी प्रदर्शनका क्रममा घाइतेको वर्गीकरण गरी ती घाइतेको उपचारका लागि मासिक उपचार खर्च उपलब्ध गराउन थालिएको मन्त्रालयको स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रका प्रमुख डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरकारले जेनजी प्रदर्शनका क्रममा अति गम्भीर घाइते र घाइतेलाई स्याहारसुसार गर्नेलाई नौ हजार/नौ हजार, गम्भीर घाइतेलाई मासिक रु नौ हजार र मध्य घाइतेलाई मासिक रु चार हजार उपलब्ध गराउने निर्णय गरेको छ । सामान्य घाइतेलाई भने कुनै रकम उपलब्ध नगराउने उल्लेख छ ।

यसैगरी, जेनजीका सबै घाइतेलाई भने एकमुष्ट ३५ हजार प्रदान गरिएको उहाँले बताउनुभयो । जेनजी आन्दोलनमा भएका घाइतेलाई विभिन्न चार वर्गमा विभाजन गरिएको छ । गृहमन्त्रालयले उपलब्ध गराएको परिचयपत्रका आधारमा ती घाइतेको वर्गीकरण गरिएको हो । घाइते भएकामध्ये ५३९ जनालाई विभिन्न चार वर्गमा विभाजन गरिएको हो । स्वास्थ्य आपत्कालीन सञ्चालन केन्द्रका प्रमुख डा बुढाथोकीले पाँच पटक गरी ती सबै घाइतेको वर्गीकरणको काम सकिएको बताउनुभयो । उहाँका अनुसार अति गम्भीर घाइते २९, गम्भीर घाइते १३०, मध्यम घाइते ८५ र सामान्य घाइते २९५ जना रहेका छन् ।

ताजा समाचार

Related Articles