काठमाडौँ, जेठ ६ गते । नेपाली कांग्रेसको ‘निर्वाचन ब्युरो’ मा १७ जना सदस्य मनोनित हुनुभएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार पार्टी सभापति गगनकुमार थापाले उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठन भएको प्रदेश तथा स्थानीय तह निर्वाचन केन्द्रित ब्युरोमा सदस्य मनोनित गर्नुभएको हो ।

ब्युरोको सदस्यमा जीवन परियार, अब्दुल सत्तार, नानु बास्तोला, सन्दीप राना, वंशलाल तामाङ, प्रकाश तिवारी, महेश ढुङ्गेल, दीपक महतो, हरि पोखरेल, सुदर्शन आचार्य, रोहित पौडेल, डा. भूमिराज चापागाईँ, सिद्धार्थ थापा, नवराज त्रिपाठी, तेज विनोद पौडेल, जगन्नाथ लामिछाने र मिलनराज बर्तौला मनोनित हुनुभएको छ । उपसभापति भुसालको नेतृत्वमा गठित यस विशेष ब्युरोको मुख्य उद्देश्य पार्टीको देशव्यापी निर्वाचन डाटाबेस निर्माण गर्ने तथा आगामी निर्वाचनका तयारीहरूलाई तथ्याङ्क आधारित र वैज्ञानिक बनाउने रहेको छ । यसैगरी, देशका कुल ७५३ स्थानीय तह, छ हजार ७४३ वडा र सातवटै प्रदेशमा विस्तृत निर्वाचन योजना तयार पार्ने जिम्मेवारी ब्युरोलाई तोकिएको छ ।

कार्यवाहक मुख्य सचिव दुलालका अनुसार मतदाताको मनोविज्ञान र ग्राउन्डको वस्तुस्थिति विश्लेषण गरी पार्टीको उम्मेदवार छनोट प्रणालीलाई तथ्यपरक एवं वैज्ञानिक बनाउन यो ब्युरोले कार्य गर्नेछ । यसका साथै आगामी निर्वाचनका लागि स्पष्ट र प्रभावकारी चुनावी रणनीति तय गर्दै पार्टीको समग्र निर्वाचन अभियानलाई आधुनिक राजनीतिक अभियानको संरचनामा रूपान्तरण गर्ने उद्देश्य ब्युरोको रहेको छ ।




